काभ्रेपलाञ्चोक – राजकुमार दाहाल काभ्रे जिल्लाको सहकारी क्षेत्रमा एक परिचित नाम हो । समुदायमा रहेर सामाजिक सेवा गर्न मन पराउने दाहाल समाजलाई सकारात्मक दिसा तर्फ उन्मुख गराउँन, नयाँ नयाँ स्थानहरुको अवलोकन भ्रमण गर्न, संगित र खेलकुदमा पनि विशेष रुची राख्नु हुन्छ ।

पढाई संगसंगै पहिलो पटक कुन्तावेसिमा रहेको पुरानो गैह्र सरकारी संस्था समाज सेवा समुहमा फिल्ड निरिक्षकको रुपमा २०६४ सालमा जागिरे जिवनको सुरुवात गरेको बताउनु भयो । करिव १४ महिना सो संस्थामा कार्य सम्पादन गरी त्यस पश्चात बनेपामा रहेको ढकाल गणेश बचत तथा ऋण सहकारी संस्था लि.मा २०६५ माघ देखि कार्यालय सहायक पदमा र २०६६ पौष देखि करिव ५ वर्ष प्रवन्धकीय जिम्मेवारी बहन गरेको जानकारी दिनु भयो ।

२०७० सालबाट पनौतीमा रहेको सिद्धार्थ बहुमुखी सहकारी संस्था लि.मा करिव ७ वर्ष लेखा समिति संयोजकको जिम्मेवारी बहन, २०७२ सालमा ढकाल गणेश साकोस र मनकामना साकोस विच एकीकरण भई मनकामना साकोसको प्रवन्धकीय जिम्मेवारी पछि २०७७ सालमा ४ वटा संस्था एकीकरण गरी सो पश्चात काभे्रपलाञ्चोक, भक्तपुर र काठमाडौं जिल्लाभर कार्यक्षेत्र सहित बनेको मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृतको रुपमा मनकामना साकोसमा हालसम्म पनि कार्यरत हुनुहुन्छ । पछिल्लो समय सहकारी क्षेत्र निकै संकटमा परेको छ । काभ्रेका केही सहकारी संचालक र व्यवस्थापकहरु फरार रहेका छन् भने केही सहकारीले बचत कर्ताको पैसा फिर्ता गर्न सक्ने अवस्था छैन । दिनप्रतिदिन बचत कर्ताहरु मिडियामा धाउने क्रम जारी छ । काभ्रेको जिल्ला प्रशासन, प्रहरी प्रशासन र सम्वन्धित निकायले बेवास्ता गरेको पिडितहरुले गुनासो पोख्न थालेका छन् । जिल्ला प्रशासन र प्रहरी प्रशासनमा हेर्न हो भने उजुरीको चाङ छ । यस्तो अवस्थामा सहकारी लाई नियमन गर्ने निकायहरुले पनि खासै केही गरेको देखिदैन । मनकामना साकोस काभ्रे जिल्लाकै राम्रो सहकारी मध्यको एक हो । यस सहकारीले यो अवस्थामा आफ्ना बचत कर्ताहरु लाई दिएको सेवा सुबिधाहरु लगायत बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालसँग गरेको समसामयिक कुराकानी

 

० मनकामना बचत तथा ऋण सहकारी संस्थाको परिचय दिनु पर्दा ?
मनकामना साकोस २०५२ सालमा २६ जना शेयर सदस्यहरु भेला भई दर्ता भएको एक विसुद्ध समुदायमा आधारित रहेको सहकारी संस्था हो । यो संस्था स्थापना गर्नुको मुख्य उद्देश्य भनेको तत्कालिन समयमा साहु महाजन हरुवाट चर्को व्याजदर, घ्यूखाने जस्ता समस्यावाट समुदायका मानिसहरुलाई छुटकारा प्रदान गरी सहज आर्थिक कारोवार गर्ने माध्यमको रुपमा मनकामना साकोस स्थापना भएको हो । २०५३ सालमा नेपाल राष्ट्रबैंकवाट सिमित बैंकिङ कारोवार गर्न स्वीकृत प्राप्त गरी २०७५ सालसम्म नेपाल राष्ट्रबैंकको सुपरीवेक्षणमा सञ्चालन भएको व्यवस्थित तथा सु–साशनमा आधारित संस्था हो । शेयर सदस्यहरुले जम्मा गर्नु भएको शेयर तथा बचत रकमलाई समयानुकुल मुनाफा पनि समयमानै वितरण गर्दै जानुपर्छ भन्ने उद्देश्य बोकी २०६० सालवाट नै बोनस वितरणको प्रावधान राखेर आकर्शक बोनस सहित अन्य आर्थिक सुविधा तथा सामाजिक सुविधा साथसाथै शेयर सदस्यहरुलाई वीमाको कार्यक्रममा समेत सामेल गराई शेयर सदस्यको आर्थिक कारोवारलाई भरपर्दो तथा विश्वसनिय रुपमा सञ्चालन गरी काभे्र जिल्लाको उदाहरणीय संस्थाको रुपमा सञ्चालनमा रहेको छ । २०६८ सालमा संस्थागत प्रयोजनको लागि जग्गा खरिद गरी २०७७ सालवाट आफैले निर्माण गरेको सुविधा सम्पन्न भवनवाट शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिदै काभे्र काठमाडौं र भक्तपुरको कार्यक्षेत्रलाई समेट्दै हाल विभिन्न ७ वटा सेवा केन्द्रहरुवाट सदस्यहरुलाई सेवा प्रवाह गरि रहेको छ ।

० तपाई मनकामना सहकारीको प्रबन्धक हुनुहुन्छ, आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ?

अहिलेको परिस्थिति अत्यन्त्यै जटिल छ । आर्थिक कारोवारको जुन किसिमवाट चलायमान हुनु पर्ने हो त्यो पुरै ब्लक भएर गाडिको चक्का जाम भए जस्तो परिस्थितिको निर्माण भएको छ यो समयमा । तै पनि यस संस्थाले शेयर सदस्यले जम्मा गर्नु भएको बचत रकमलाई फिर्ता गर्नको निम्ती पर्याप्त मात्रामा तरलताको व्यवस्था गरिरहेको छ । पर्याप्त मात्रामा ऋण लगानी गर्न नसकेपनि शेयर सदस्यका अति आवश्यकीय प्रयोजनको लागि अत्यन्त सुक्ष्म अध्ययन गरी अहिले पनि हामीले ऋण लगानी गरिरेहेका छौँ । परिस्थिति अनुसार शेयर सदस्यहरुलाई लगानी गरिएको ऋणको व्याज अशुली गत वर्षको तुलनामा केहि कमी भए पनि अहिलेको अवस्थालाई मध्यनजर गर्दा सन्तोषजनक नै मान्नुपर्ने अवस्था रहेको छ । अरु नियमित सेवाहरुलाई यथावत रुपमा नियमित सञ्चालन गरिरहेका छौँ, विभिन्न कार्यक्रम तथा कर्मचारीहरुवाट शेयर सदस्यहरुलाई नियमित रुपमा सम्पर्क, भेटघाट गरिरहेका छौँ, शेयर सदस्यहरुको संस्था प्रतिको भरोसा तथा विश्वास अगाध रहेको छ सोही बमोजिम शेयर सदस्यहरुलाई पनि संस्थाको तर्फवाट भन्नुपर्दा सो विश्वास र भरोसालाई नडग्मगाउँने गरी संस्था सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्दछु ।

 

० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ? 
सहकारी संस्थाका समस्याहरुको तिन वटा पाटो भएको मैले महसुस गरेको छु । तिनवटा मध्य नियमनकारी निकायवाट जुन किसिमको नीति निर्माण गरी सोही बमोजिम कार्यान्वयन गर्नुपर्ने थियो नीति बन्यो तर कार्यान्वयनको अवस्था सुन्य रह्यो, जसले जे मन लाग्छ सोही बमोजिम गर्दै जानु भयो त्यसमा कुनै पनि निकायवाट सुपरिवक्षण भएन त्यसको फलस्वरुप आजको अवस्था आउँन पुगेको हो । दोस्रोमा केही सहकारी संस्थाका सञ्चालकहरुको बदमासी पूर्ण ढंगवाट सहकारी सञ्चालन गरेको कारण यो समस्या आएको हो । संघ, प्रदेश र स्थानीय निकायवाट जारी भएको सहकारी ऐन, नियमावली, मापदण्ड, अनि आफ्नै संस्थाको विनियम तथा नियमावली एकातिर अनि सहकारी सञ्चालन अर्कैतिर गर्दै शेयर सदस्यहरुवाट संकलन गरिएको बचत तथा शेयर रकमलाई भोलि फिर्ता दिनु पर्छ भन्ने कुरा विर्सिएर आफ्नै पेवा सम्झेर पैसा देखेपछि महादेवका पनि तिन नेत्र भने जस्तो गरी आफै रकम अपचलन गरी अनधिकृत कारोवार गर्ने सहकारी संस्थामा चरम समस्या देखिएको छ । हामी जस्तो समुदायमा आधारित भएर सञ्चालन भएका सहकारी संस्थाहरुमा केहि समस्या रहेको छैन । केहि सहकारी संस्थाहरुले गलत ढंगवाट सञ्चालन गर्नु भई त्यसवाट समुदायमा सहकारी संस्था प्रति परेको नकारात्मक प्रभावको कारण शेयर सदस्यहरुसंगको सम्वाद तथा समन्वयलाई प्रभावकारी रुपमा ध्यान दिएर कार्य सञ्चालन गरिरेहेका छौँ । अर्को पाटोको रुपमा सहकारी अभियान पनि अलि कमजोर भएको हो की, सम्बन्धित निकायमा उपयुक्त ढंगवाट लविङ गर्न नसकीरहेको होकी जस्तो म देख्दछु । अभियानमा राजनैतिक धरातलवाट नेतृत्वकर्ता आउँने, पदमा टिक्नको लागि आफु अनुकुल कार्य गर्ने तर सहकारी अभियानलाई साच्चीकै दरिलो बनाउँने गरी अभियान अघि बढ्न नसकेको जस्तो लाग्दछ । देशको आर्थिक तथा सामाजिक विकासमा सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गरेको तथा आगामी दिनमा गर्नेछ भनेर सहकारी कर्मीलाई तथा सम्बन्धित निकायलाई सु–सुचीत गराई जुन पुलको काम गर्नु पर्दथ्यो त्यसमा अलि फितलो भएको जस्तो महसुस गरेको छु ।

० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ? 
वास्तवमा सहकारी संस्था नाफा मुखी हुँदै होईन तर नाफा गर्नु पर्ने जरुरी पनि रहन्छ, फेरी गरिएको नाफा पनि त शेयर सदस्यहरुकै हो, त्यो बाढिने फेरी शेयर सदस्यहरुलाई नै हो, चाहे लाभांसको रुपमा होस, शिक्षा तालिमको रुपमा होस, शेयर सदस्यहरुका आयआर्जनका कार्यक्रम सञ्चालन गर्न होस अथवा आकर्शक जगेडा कोषको निर्माण गरी संस्थाको जगलाई मजवुत बनाउँनको निम्ती पनि नाफा जरुरी छ त्यसैले यो सामान्य प्रकृया हो जस्तो मलाई लाग्दछ । शेयर सदस्यहरुलाई आर्थिक तथा सामाजिक आवश्यकतालाई ध्यानमा राखी समय अनुुसारका सकेसम्म बढी भन्दा बढी सेवाहरु प्रदान गरेर मात्र नाफा तिर लाग्नु पर्ने म देख्दछु । संस्थालाई दिगो रुपमा पुस्तान्तरण हुने किसिमवाट सञ्चालन गरी राख्नको लागि नाफा आवश्यक छ तर धेरै नाफाको लोभमा आफ्ना सदस्यहरुलाई मार पर्ने गरी नाफाको चक्करमा लाग्नु भने गलत हुन्छ भन्ने मेरो ठम्याई रहेको छ ।

० धेरै बर्ष भयो तपाईले सहकारीमा आवद्ध भएर काम गर्न थाल्नु भएको खासमा सहकारी भनेको चाहीँ के हो त ? 
वास्तवमा सहकारी भनेको एक किसिमको सहकार्य नै हो । आर्थिक कृयाकलाप सञ्चालन गर्ने एक विसुद्ध सामाजिक संस्था नै सहकारी हो भन्ने गरेको छु मैले चाहि । कसको के कुरामा क्षमता छ र कुन विषयमा सहकार्य आवश्यक छ सो विषयको पहिचान गरी समन्वय गर्नु नै सहकारी हो । विशेष गरेर आर्थिक तथा सामाजिक कृयाकलाप सञ्चालन गर्ने गरी सहकारी संस्थाहरु कृयासिल रहन्छन । सहकारीको माध्यमवाट दुर दराजमा रहेका मानिसहरुलाई समेत आज वित्तीय पहुचमा सामेल गराउँन सकिएको छ । सहकारी संस्थाको माध्यमवाट नै आज मानिसहरुलाई बैंक सम्मको पहुचमा पुग्नको लागि सहज भएको छ । मानिसहरुलाई शिक्षा, तालिम, सिपमुलक कार्यक्रमहरु सञ्चालन, शेयर सदस्यहरुका पेसा तथा व्यवसायलाई वीमाको पहुचसम्म पु¥याउँनको लागि पुलको रुपमा समेत सहकारी संस्थाहरु रहेको मैले महसुस गरेको छु । डोर टु डोर सर्भिस सहकारीले प्रदान गरेको छ त्यसैले सहकारी भनेको सदस्यहरुका आर्थिक सामाजिक आवस्यकता पुरा गर्ने पुल नै हो पनि भन्न म चाहान्छु ।

० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ? 

जस्तै डक्टरले विरामी मरोस भनेर उपचार गर्दैन, शिक्षकले विद्यार्थी फेल होस भनेर पढाएको हुँदैन भनेझै कुनै पनि सहकारी संस्थाले पनि शेयर सदस्यहरुको उठिवास लागोस भनेर कारोवार गरेको हुँदैन । शेयर सदस्यहरुको वित्तीय परामर्सदाताको रुपमा सहजीकरण गर्ने काम सहकारीको हो तर शेयर सदस्यको आफ्नो योजना पनि हुन्छ त्यसमा अध्ययन अनुसन्धान गर्ने, जोखिमको मुल्याङ्न गर्ने, सम्भाव्यता अध्ययन गर्ने काम त स्वएम् सदस्यको हो नी त, तर भोलिको जोखिमको कुनै पनि मुल्याङ्कन नगरी कुन बेला पैसा पाईएला र फुत्काउँ भनेझै गरी लगानी गर्ने सदस्यहरुले सफलता प्राप्त गर्न कठिनाई रहन्छ जस्तो मलाई लाग्छ । असफलताको अर्को पाटो फेरी भैपरिआउँने समस्याले पनि हुन सक्छ, जस्तो भुकम्प, कोभिड, अहिलेको जस्तो आर्थिक मन्दी, मौसमी परिवर्तनवाट हुने नकारात्मक प्रभावका कारण पनि असफलता प्राप्त हुन सक्दछ तर कुनै पनि सदस्यलाई सहकारीले असफल बनाउँने, उठिवास लगाउँने काम गर्छ भन्ने कुरामा म कत्ति पनि विश्वास गर्दिन ।

० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ? 
सहकारी क्षेत्रमा अव अध्ययन अनुसन्धानको कमी भयो त्यसैले भने जस्तो गरी सञ्चालन गर्न सकिएन भन्न सुहाउँछ जस्तो मलाई लाग्दैन । विशेष गरेर सहकारी संस्था सञ्चालनको मर्म र भावना अनुसार सञ्चालन गरियो कि गरिएन भन्ने विषय महत्वपूर्ण हो जस्तो लाग्दछ । सहकारी संस्था भनेको ग्रामिण दुर दराजमा रहेका सिमित आर्थिक पहुँच भएका मानिसहरुलाई एकतृत गरी आयआर्जन मुखी कार्यक्रमहरुमा संलग्न गरी उनीहरुको जिवनस्तरलाई सहजीकरण गर्नु सहकारी हो जस्तो मलाई लाग्दछ । अव सहर बजारमा सञ्चालन भएका सहकारी हरुको काम भनेको ठुलो रकम संकलन गर्ने, ठुला व्यवसाय तथा घर जग्गा प्लटिङ्मा ऋण लगानी गर्ने अझै सहकारी वा सहकारीको मूख्य मानिसहरु आफैले प्लटिङ् गर्ने जस्तो कारणले सहकारी संस्थाहरु प्रति आम मानिसको धारणामा पूर्ण परिवर्तन ल्याउँन सकिएको छैन । सहकारीले शहर बजार भन्दा पनि गाउँ केन्द्रीत अभियान सञ्चालन गर्न जरुरी छ, उत्पादन मुखी क्षेत्रमा मात्र लगानी गर्ने वातावरण बनाउँन जरुरी छ र हामी पनि सोही अनुसार हाल छलफलमा केन्द्रीत रहेका छौँ, अवस्था सहज भए पश्चात सो प्रकृया विस्तारै अगाडि बढाउँनेछौँ ।

० दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ? 
दोहोरो सदस्यताको विषयमा धेरै बहस भई नै सकेको छ । वास्तवमा यो कुरा कुनै पनि हिसावले बैज्ञानिक छैन । सदस्यले समयअनुसार आफु सदस्य रहेको सहकारी संस्था मध्ये कुनमा आफुलाई चाहिएको कुरामा उत्कृष्ठ व्यवस्था छ सो सहकारी संस्थामा कारोवार गर्न पाउँनुपर्छ । वित्तीय व्यवस्थापन तथा अनुसासनमा बस्ने काम स्वयम् सदस्यको नै हो नी तर ऐनमै व्यवस्था गरेर मानिसलाई धेरै वटा संस्थावाट ऋणको कारोवार गर्न वाट वञ्चित बनाई मानिसहरुलाई भोली भै परि आउँने समस्यालाई ऐनमै व्यवस्था गरी मुक्त गराउँछु भन्ने मानसिकतावाट आएको ऐनको यो व्यवस्था आफैमा हास्यास्पद छ जस्तो लाग्छ है मलाई चै , अनि दोहोरो सदस्यताको पूर्ण रुपमा लागु भए पश्चात सहकारी संस्थाहरुका पनि त एकाधिकार हुन सक्दछनी यसले सदस्यलाई पार्ने प्रभावको मुल्याङ्कन भएको छ त ? त्यसैले मानिसहरुलाई आफ्नो कारोवारलाई स्वतन्त्र रुपमा गर्न पाउँनेगरी व्यवस्था हुनु पर्दछ भन्ने मेरो ठम्याई हो ।

० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि रु के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ? 
बचत कर्ताको पैसा कुम्ल्याएर भागेका सहकारी संस्था प्रति मेरो खेद छ । सदस्यले आफुले खाई नखाई जम्मा गरेको रकमलाई यसरी दुरुपयोग गर्दा हामी अत्यन्त मर्माहत भएका छौँ । यस विषयमा कानुनी राज्य भएको देश हो यो हाम्रो । दोसिलाई कार्वाहीको दायरामा ल्याउँनु पर्दछ हामी सहकारी कर्मिले सो विषयमा आफ्नो स्थानवाट गर्न सक्ने सम्मको पहल कदमी गरी पनि राखेका छौँ साथै आगामी दिनमा पनि सहयोगमा कुनै कसर राखिने छैन । शेयर सदस्यको पैसा साँवा व्याज सहित फिर्ता गर्ने वातावरण तय हुनै पर्छ ढिलो चाडो भए पनि । हाल सहजै सञ्चालन भएका सहकारीले पनि आगामी दिनमा अनुसासित रुपमा आर्थिक कारोवार सञ्चालन गर्नु पर्ने देखिएको छ ।

० अहिले सदस्यहरुले यस सहकारी संस्थाबाट के कस्तो फाईदा लिन सकेका छन् ? 

हामी समुदायमा आधारित रहेर सञ्चालनमा रहेको सहकारी संस्था मध्य एक हौँ । समय सापेक्ष बचतका प्रोडक्टहरु निर्माण गरी व्याजदरलाई बजार दर अनुसार नै हामीले पनि दर कायम गरेका छौँ भने ऋणको व्याजदरलाई पनि सहुलियत व्याजदरमा सन्दर्भ व्याजदरलाई कार्यान्वयन गर्दै लागु गरेका छौँ । यो संंस्था २०५२ सालमा स्थापना भई सञ्चालनमा आएपश्चात २०६० सालवाट नै हामीले १५ प्रतिशत भन्दा माथी रहेर हालसम्म पनि लाभांस उपलब्ध गराई रहेका छौँ । शेयर सदस्यहरुलाई औसधि उपचार खर्च रु २५ हजारसम्म उपलब्ध गराउँछौँ । सदस्यको मृत्यु भएको अवस्थामा कृया खर्च वापत परिवारलाई रु २० हजार राहत उपलब्ध गराउँने, दैवी विपत्तीमा राहत उपलब्ध गराउँने, सुत्करी सदस्यलाई रु २ हजार पोशण खर्च, प्रविधिको प्रयोग अन्तर्गत मोवाईल बैंकिङ् सुविधा, सवारी साधनको कर भुक्तानी सुविधा, ज्येष्ठ सदस्यहरुलाई तिर्थाटन गराउँने कार्यक्रम, विभिन्न तालिममा निःशुल्क सहभागि गराईने गरिएको, शैक्षिक सम्मान कार्यक्रम, सम्पूर्ण शेयर सदस्यहरुलाई रु २ लाख सम्मको दुर्घटना वीमामा आवद्ध गराईएको छ ।

० सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ? 
युवा पुस्ताको रुची सहकारी बन्नको लागि युवा आकर्शित कार्यक्रमलाई जोड दिन जरुरी छ । उहि परम्परागत ढंगवाट सहकारीको सञ्चालन गरेर युवालाई आकर्षण गर्न सकिदैन । समय अनुसार प्रविधि मैत्री कार्यक्रम सहकारी संस्थाले गर्ने गरी छिटो, छरितो, भरपर्दो र विश्वसनीय ढंगवाट कार्य सम्पादन गर्दै युवालाई नेतृत्वतहमा राखेर प्रचलित नीति विधिको अधिनमा रही आफ्ना योजनाहरु निर्माण गरी सफल कार्यान्वयन गर्न सकेको खण्डमा युवाको आकर्षण सहकारीमा बढ्न सक्छ ।

० वचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थामा कुन चाहीँ बढि प्रभावकारी देखिन्छ ? 

दुवै प्रकृतिका सहकारीको समुदायमा आ–आफ्नै विशेषता रहेको छ । कृषि सहकारीले कृषि सामग्रिको उत्पादन देखी प्रवर्दन गर्ने सम्मको काममा आफ्नो भुमिका निर्वाह गरेको हुन्छ । हाम्रो जस्तो कृषि प्रधान देशमा यो अत्यन्त जरुरी रहन्छ तर कृषि सहकारीको समुदायमा प्रभावकारिताको अवस्था अत्यन्त कमजोर छ भन्ने मेरो बुझाई छ भने यसलाई सफल सञ्चालन गर्न राज्यस्तरवाट प्रमुख पहल तथा कुनै पनि विषयमा सहयोग गर्न अझै भन्नु पर्दा अभिभावकत्व निर्वाह गर्न तत्पर रहनु पर्दछ । राज्य पश्चात कृषि सहकारीका सञ्चालक तथा व्यवस्थापनले पनि प्रभावकारी ढंगवाट समुदायमा आर्थिक सामाजिक रुपमा साच्चीकै सकारात्मक प्रभाव पार्ने गरी संस्था सञ्चालन गर्नु पर्दछ । अव बचत तथा ऋण सहकारीको कुरा गर्दा नेपालमा सहकारी फस्टाएको नै बचत तथा ऋण सहकारी हुन जसले समुदायका मानिसहरुलाई आफ्ना आर्थिक कारोवार सहजै सञ्चालन गर्न सक्ने माध्यम पनि बन्यो साथै मानिसहरुलाई बैंक सम्मको पहुचको निर्माण पनि बचत तथा ऋण सहकारी संस्थाको माध्यमवाट नै सम्भव भएको हो ।

० भावी योजनाहरु के छन् ? 
भावि योजनाको रुपमा संस्थाले शेयर सदस्यहरुलाई प्रदान गरि रहेको सुविधालाई अझै थप गर्दै सदस्य सन्तुष्टिलाई ध्यान दिदै अगाडि बढ्ने लक्ष्य रहेको छ । कार्यक्षेत्रभित्र आगामि ५ वर्ष भित्र ५० हजार शेयर सदस्य र ६ अर्वको वासलातको निर्माण गरी आधुनिक प्रविधिको समुचित प्रयोग गर्दै युवा पुस्ताको रोजाईको सफल सहकारी संस्थाको रुपमा यस संस्थालाई सञ्चालन गर्ने योजनाहरु रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..