बालबालिकाहरुलाई कला, संस्कृति र व्यावहारिक शिक्षामा अग्रसर गराउँदैै ज्ञानकुञ्ज

बनेपा, माघ १५ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले एक विशेष कार्यक्रम आयोजना गरी साना बालबालिकालाई सम्मान तथा उपहार वितरण गरेको छ । विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीहरूले तल्लो तहका बालबालिकालाई सम्मान गर्दै कार्यक्रमलाई अर्थपूर्ण बनाएका थिए ।

कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले नर्सरी देखि कक्षा ३ सम्मका बालबालिकालाई पूजा गरी विभिन्न शैक्षिक तथा उपभोग्य सामग्री उपहार स्वरूप प्रदान गरेका थिए । कार्यक्रममा करिब ५०० भन्दा बढी बालबालिकालाई कापी, कलम लगायत स्टेशनरी सामग्री, फलफूल, खाजा तथा अन्य सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ ।

बिज्ञापन

“शिक्षा विद्यार्थीका लागि, विद्यार्थी देशका लागि” भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको उक्त प्रतिष्ठानले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै आइरहेको छ । राष्ट्रिय नाराका रूपमा रहेको “बालमैत्री शासन, बाल अधिकारको सम्मान” लाई समेत आत्मसाथ गर्दै कार्यक्रम सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा विद्यालयका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्य, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि अभिभावकहरूको सक्रिय सहभागिता देखिएको जनाइएको छ ।

प्रतिष्ठानका प्रबन्ध निर्देशक वैद्यका अनुसार विद्यालयले पाठ्यक्रममा मात्र सीमित नरही विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, संस्कार र व्यावहारिक ज्ञान विकास गर्ने उद्देश्यका साथ साथै ठुलालाई सम्मान तथा सानालाई मायाको उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कार्यक्रम प्रति अभिभावक तथा शिक्षकहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिले बालबालिकामा सानै उमेर देखि कला, संस्कृति, सहकार्य सहयोग, सम्मान र सामाजिक भावनाको विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।