
अमित लामा
काभ्रे, क्षेत्र नं. १ को उम्मेदवार

‘जेन–जी विद्रोह’को नाममा देखिएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः शीर्ष नेताहरू गम्भीर सुरक्षा चुनौतीको सामना गर्न बाध्य भए। धेरै नेताका निजी निवास तथा सम्पत्तिमा क्षति पुग्दा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि त्यसबाट अछुतो रहन सकेनन्। बरु, आन्दोलन र अराजकताका मुख्य निशानामै ओली परे। आज पनि उनी विभिन्न कोणबाट तारो बनिरहेका छन्।

यस्तै जोखिमपूर्ण परिस्थितिमा अध्यक्ष ओलीको सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएर अग्रमोर्चामा उभिएका युवा नेता हुन्—अमित लामा।


युवा संघ नेपालको तल्लो कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका लामा केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै तीन कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। केही समय कार्यवाहक अध्यक्षको भूमिका समेत सम्हालेका उनी हाल पूर्णकालीन रूपमा पार्टी काममा सक्रिय छन्। एमाले काभ्रे जिल्ला कमिटीमा तीन कार्यकाल विभिन्न जिम्मेवारी सम्हाल्दै आएका लामा प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको आयोजना तथा व्यवस्थापनमा पनि अमित लामासहितका युवाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। काभ्रेको रोशी गाउँपालिका अन्तर्गत शिखरआम्बोटेमा जन्मिएका लामा एक सामान्य परिवारबाट आएका व्यक्ति हुन्। सानै उमेरदेखि विभिन्न व्यावसायिक गतिविधिमा संलग्न रहँदै परिवारको दायित्व र जीवनका चुनौतीसँग जुधेका उनले उद्यमशील जीवन रोजे, जसले उनलाई आत्मनिर्भर बनायो।
व्यवसायिक यात्रासँगै उनले नेकपा (एमाले) को राजनीतिक यात्रा पनि अघि बढाए। युवा उमेरमै रोजेको यो बाटो कहिले सहज त कहिले निकै कष्टकर बन्यो। तर, दुःख–सुख जे जस्तो भए पनि उनले एमालेसँगको सम्बन्धलाई निरन्तर अघि बढाए। त्यस क्रममा उनले व्यक्तिगत चाहना र व्यवसायिक समयसमेत पार्टीका लागि त्यागे।
जेन–जी आन्दोलनपछि जब प्रमुख राजनीतिक नेताहरू गम्भीर सुरक्षा जोखिममा परे, त्यही बेला अमित लामा र उनका सहकर्मीहरूले अध्यक्ष ओलीका लागि अलग्गै सुरक्षा दस्ता गठन गरे। उक्त सुरक्षा संयन्त्रका एक सशक्त कमाण्डरका रूपमा अमित लामा अग्रपङ्क्तिमा देखिए।
त्यतिबेला नेतामात्र होइन, राजनीतिक गतिविधि नै सीमित हुने अवस्था थियो। ठूला कार्यक्रम नगर्न सुरक्षा निकायले चेतावनी दिइरहेका थिए। यस्ता कठिन परिस्थितिमा पनि अमित लामाले पार्टी अध्यक्ष तथा केन्द्रीय कमिटी बैठकको सुरक्षा र सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिए।
नेकपा (एमाले) को असोज २९, ३० र ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठक ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा सम्पन्न भएको थियो। उक्त पार्टी प्यालेस अमित लामाको लगानीमा सञ्चालनमा रहेको हो। सुरक्षा निकायले त्यस प्रकारको ‘तामझामपूर्ण’ कार्यक्रम नगर्न चेतावनी दिइरहेका बेला पनि उनले सम्भावित सबै चुनौती सामना गर्ने अठोटसहित आफ्नो व्यवसायिक स्थल पार्टीलाई उपलब्ध गराएका थिए। अध्यक्ष ओलीको सुरक्षा त्यस समयमा पूर्ण रूपमा उनकै जिम्मेवारीमा थियो।
देख्दा उनी एमालेका एक सामान्य कार्यकर्ता जस्ता लाग्न सक्छन्, तर भूमिकाका हिसाबले कठिन परिस्थितिमा निजी सम्पत्ति, समय र सम्भावित जोखिमसमेत बेवास्ता गर्दै पार्टी र नेतृत्वको सुरक्षामा समर्पित व्यक्ति हुन् अमित लामा।
केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएलगत्तै उनले देशभरका युवालाई एमालेप्रति अझ आकर्षित गर्ने स्पष्ट योजना सार्वजनिक गरेका थिए।
“युवाहरू रचनात्मक, सिर्जनशील र आत्मनिर्भर हुनुपर्छ भन्ने मेरो एजेण्डा हो,” उनले भनेका छन्, “एमाले युवालाई पिछलग्गु बनाउने पार्टी होइन, जिम्मेवारीसहित राष्ट्र निर्माणमा अगाडि बढाउने पार्टी हो भन्ने सन्देश म देशभरका युवाबीच स्थापित गर्न चाहन्छु। आगामी निर्वाचनमा मेरो उम्मेदवारी पनि यही सोचको परिणाम हो।”
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय लामा स्थानीय विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिसकेका छन्। सामाजिक अभियानमा संलग्न उनी गरिब, जेहेन्दार तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आएका छन्। राजनीतिक, सामाजिक र व्यावसायिक जीवनमा समानान्तर रूपमा सक्रिय अमित लामा पछिल्लो समय युवाहरूका लागि प्रेरणाको केन्द्र बन्दै गएका छन्।
४४ वर्षीय अमित लामा सानैदेखि समाजसेवा र राजनीतिप्रति गहिरो झुकाव राख्ने व्यक्तित्वका रूपमा परिचित छन्।


