बारिस्टा तालिम सम्पन्न, ३० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

 

महाभारत गाउँपालिका कफिको हब बन्दै, कफि व्यवसायलाई पालिकाको विशेष प्राथमिकता

बिज्ञापन

बनेपा । इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाद्वारा सञ्चालित बारिस्टा तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम पूरा गरेका ३० जना प्रशिक्षार्थीलाई एक औपचारिक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै केक काटेर तालिम सफलतापूर्वक सम्पन्न हुनुमा खुशी व्यक्त गर्दै सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो।

“महाभारत गाउँपालिकामा ‘जसले रोप्छ कफिको बोट, उसैले पाउँछ २० को नोट’ भन्ने नारासहित कफि खेती विस्तार अभियान सञ्चालन गरिएको छ। कफि उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड्दै पालिकाले किसान र उद्यमीलाई विभिन्न अनुदान तथा सहयोग प्रदान गर्दै आएको छ।”

“महाभारत गाउँपालिका आज कफिको सम्भावनायुक्त क्षेत्रका रूपमा अगाडि बढिरहेको छ। कफि उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिँदै पालिकाले किसान र उद्यमीलाई विभिन्न अनुदान तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तो अवस्थामा बारिस्टा जस्ता व्यावसायिक तालिमले स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्छ।”

“आजको आवश्यकता सीप हो। कफि उत्पादन मात्रै होइन, त्यससँग सम्बन्धित बारिस्टा, क्याफे सञ्चालन र सेवा क्षेत्रमा दक्ष जनशक्ति तयार गर्नु अत्यावश्यक छ। तालिम पूरा गर्नु भएका युवाहरूले स्थानीय स्तरमै उद्यमशीलता विकास गरी आत्मनिर्भर बन्ने विश्वास लिएको छु।” उहाँले भन्नुभयो।

कार्यक्रममा उपस्थित समाजसेवी तथा सामाजिक अभियन्ता राजन अधिकारीले स्थानीय युवालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता सीपमूलक तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। उहाँले भन्नुभयो,
“कफि जस्तो सम्भावनायुक्त कृषि उत्पादनलाई हस्पिटालिटी र सेवासँग जोडेर अघि बढाउनु समयको माग हो। इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरले युवालाई व्यवहारिक र रोजगारमुखी तालिम प्रदान गर्नु अत्यन्त सराहनीय काम हो।”

त्यसैगरी, इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक कामदेव शाह ठकुरीले संस्थाको उद्देश्य र भावी योजनाबारे जानकारी गराउँदै भन्नुभयो।

“हाम्रो लक्ष्य विद्यार्थीलाई प्रमाणपत्र मात्र होइन, व्यवहारिक सीप, आत्मविश्वास र रोजगारीका लागि सक्षम बनाउनु हो। कफि उत्पादन बढ्दै गएको यस क्षेत्रमा दक्ष बारिस्टाको माग बढ्दो छ, त्यसलाई मध्यनजर गर्दै गुणस्तरीय तालिम प्रदान गरिरहेका छौं। आगामी दिनमा अझै उन्नत तालिम र रोजगारसँग जोडिने कार्यक्रम ल्याउने योजना छ।”

यस ट्रेनिङ सेन्टरले वेटर, बारिस्टा, कुक, बार टेन्डिङ, सुसी, हाउसकिपिङ तथा होटल व्यवस्थापनसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ। अनुभवी तथा दक्ष प्रशिक्षकमार्फत मोटिभेसन विधिबाट तालिम प्रदान गरिएकाले केन्द्रप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरूले तालिमले आफूहरूलाई कफि तथा हस्पिटालिटी क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न आत्मविश्वास दिएको प्रतिक्रिया व्यक्त गरेका थिए।