
उनले भने, “जति मजबुत उपस्थिती, त्यति नै प्रभाव पर्नेछ, त्यसैले आगामी २७ गते सल्लाघारीमा आयोजित भेलामा पार्टीका कार्यकर्ताहरू र शुभेच्छुकलाई उपस्थित हुन आवश्यक छ।” गोदावरी नगर कमिटी, ललितपुरले आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन जनपरिचालन सम्बन्धी विस्तारित बैठकमा बोल्दै उनले, केपी ओली मुलुकको राजनीतिक चुनौतीलाई सामना गर्न सक्ने योग्य नेता रहेको भन्दै सबैलाई यसलाई बुझ्नुपर्ने आव्हान गरे।

ज्ञवालीले भने, “एमालेकै कारण अन्य पार्टीले समाजमा आफ्ना आवाज बढाउन सकेका छन्। नीति र नेताको चयन गर्न छुट्टाछुट्टै महाधिवेशन गर्ने एक मात्र पार्टी एमाले हो, त्यसैले पार्टीलाई आवश्यक समयमा उपस्थित हुन नसक्ने नेता र कार्यकर्ताको कुनै महत्व छैन।” उनले थपे, “पार्टीको आवश्यकता पर्ने बेलामा उपस्थित नहुने व्यक्तिहरूको के काम? तिनीहरूलाई गहनाको रूपमा राख्न मिल्दैन।”

ज्ञवालीले युवा पुस्तामा फैलिरहेको अराजकता र अस्थिरता बारे पनि चिन्ता व्यक्त गर्दै भने, “जेन जीको खोल ओढेर अराजकता बढिरहेको छ, तर समय आएपछि सबै कुरा स्पष्ट हुनेछ।”


कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खीमलाल भट्टराईले जनताको जीवन सुधार्न एमालेको विकल्प नहुने स्पष्ट पारे। उनले प्रतिगमनको विरुद्ध २७ गते मसीरको जनलहरमा उत्रिनुपर्ने कुरामा जोड दिए।
अर्का पोलिटब्युरो सदस्य शुसीला नेपालले पार्टी मात्र होइन, देशलाई पनि केपी ओलीको खाँचो रहेको बताउँदै, ओली र एमालेविरुद्ध देशी र विदेशी शक्ति मिलेर षड्यन्त्र गरिएको आरोप लगाइन्। उनले भनिन्, “यो अवस्थामा केपी ओलीको विकल्प खोजेर पार्टीलाई कमजोर होइन, मजबुत बनाउनुपर्छ।”
नगर अध्यक्ष विक्रम घिमिरेले महाधिवेशन उद्घाटनको दिन कम्तीमा ३ हजार जना आमसभामा सहभागी हुने जानकारी दिए।


