कान्छो प्रधानमन्त्रीको देश

 

नन्दलाल खरेल

बिज्ञापन

बिश्वकै कान्छो प्रधानमन्त्री भएको देश,
जहाँ उमेरभन्दा ठूलो हुन्छ पोस्टरको देश।
अनुभव होइन, भाइरल नै योग्यता,
भाषण छोटो, नाराचाहिँ अनन्तता।

यो देश गौतम बुद्धको देश होइन,
यहाँ करुणा भन्दा क्यामेराको शासन छ।
यो देश सगरमाथाको देश होइन,
यहाँ शिखरभन्दा माथि अहंकार उक्लिन्छ।

यो देश बालेन जन्मिएको देश हो,
त्यसैले इतिहास रिसेट भएको घोषणा हो।
नगरबाट राष्ट्र, राष्ट्रबाट स्वर्ग,
स्टाटसले बनाउनेछ समृद्धिको मार्ग!

बालेनको युग हो—भनिन्छ चौतर्फी,
युग भन्नु अघि बुझिन्छ कि होइन नीतिगत दूरी?
अब सुख, शान्ति, समृद्धि सबैकुरा,
एउटै अनुहारमा अट्नेछ पूरा!

प्रश्न गर्नेलाई ‘पुरानो सोच’ भनिन्छ,
संशय गर्नेलाई देशद्रोही गनिन्छ।
लोकतन्त्र भनेको भोट हाल्ने दिन मात्र,
पछि त ताली, लाइक र शेयरको कर्तव्य मात्र।

सबैले भोट दिऊँ—नसोची, नबुझी,
विचार होइन, भक्तिभाव रोजी।
रास्वपाको पार्टीलाई जिताऔँ,
किनकि विकल्प भन्नु नै अब पर्याप्त भयो है!

यो देश अब देश रहेन, ट्रेन्ड भयो,
नीति होइन, नायकको ब्रान्ड भयो।
कान्छो प्रधानमन्त्रीको देशमा प्रश्न सानो छ—
देश बन्छ कि पोस्टर?
यही नै सबैभन्दा ठूलो प्रश्न हो आज।