ॐ समाज डेण्टल अस्पताल र Lions Club of Kathmandu Chandragiri Delight को संयुक्त आयोजनामा निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

 

ललितपुर / राजन थापा
मानवता, सेवा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। सातदोबाटो ट्राफिक प्रहरी परिसरको सहकार्य तथा व्यवस्थापनमा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सर्वसाधारण, युवायुवती तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बिज्ञापन

कार्यक्रममा निःशुल्क दन्त परीक्षण, डेन्टल स्केलिङ, दन्त सम्बन्धी परामर्श तथा अन्य दन्त सेवामा विशेष छुट प्रदान गरिएको थियो। साथै “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ठूलो संख्यामा नागरिकहरूले रक्तदान गर्दै मानव सेवामा योगदान पुर्‍याएका थिए। आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका धेरै नागरिकहरूले निःशुल्क सेवा पाएपछि खुशी व्यक्त गरेका थिए।

शिविरमा स्वयं उपस्थित भएर बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका डा. सुवास घिमिरेले भावुक हुँदै भन्नुभयो, “डाक्टर हुनु केवल पेशा मात्र होइन, यो मानवताको सेवा गर्ने अवसर पनि हो। बिरामीहरूको अनुहारमा देखिएको आशा, विश्वास र मुस्कानले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका नागरिकलाई सेवा दिन पाउँदा मन अत्यन्तै भावुक भएको छ। सानो सेवाले कसैको पीडा कम हुन्छ भने त्यो नै हाम्रो लागि सबैभन्दा ठूलो सन्तुष्टि हो।”

लायन्स क्लबका अध्यक्ष कृपेश कुमार कर्णले “समाज सेवाभन्दा ठूलो धर्म केही हुँदैन” भन्दै यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाजमा स्वास्थ्य चेतना फैलाउनु आजको आवश्यकता भएको बताउँदै सबैको साथ र सहभागिताले यस्ता अभियान अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।

उपाध्यक्ष आनन्द कुमार श्रेष्ठले “रक्तदान जीवनदान हो” भन्दै एउटा सानो सहयोगले कसैको जीवन बच्न सक्ने उल्लेख गर्नुभयो। सचिव शिशिर आचार्यले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउँदै दुर्गम तथा आवश्यकतामा रहेका नागरिकसम्म स्वास्थ्य सेवा पुर्‍याउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो। कोषाध्यक्ष विदुर बुढाथोकीले मानवताभन्दा ठूलो सेवा केही नहुने उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।

कार्यक्रममा सहभागी धेरै सेवाग्राहीहरूले सातदोबाटो ट्राफिक प्रहरी परिसरले उपलब्ध गराएको स्थान र सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए। “हामीलाई यस्तो स्थान दिएर रक्तदान तथा निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गर्न अवसर दिनुभएकोमा हामी अत्यन्त खुशी छौं। साच्चिकै यस्ता शिविर समाजका लागि अत्यन्त आवश्यक छन्,” भन्दै सहभागीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

अन्त्यमा सामाजिक अभियानता राजन थापाले भावुक हुँदै भन्नुभयो, “आजको समाजमा पैसा भन्दा ठूलो कुरा मानवता रहेछ भन्ने अनुभूति भयो। जब कसैको पीडामा साथ दिन सकिन्छ, तब मात्र मानिस हुनुको अर्थ महसुस हुन्छ। बिरामीहरूको अनुहारमा उपचारपछि देखिएको मुस्कान हाम्रो अभियानको सबैभन्दा ठूलो सफलता हो। मानव सेवा नै संसारको सबैभन्दा ठूलो धर्म हो, र यही भावनाले हामीलाई निरन्तर अगाडि बढ्न प्रेरणा दिएको छ।”