
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले सञ्चालन गरेको ‘घर फर्क’ अभियानमाथि तीखो टिप्पणी गरेका छन्।


बुधबार राष्ट्रिय सभा गृहमा आयोजित एकता समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रमलाई व्यङ्ग्य गर्दै भने —
“अस्ति यही ठाउँमा घर फर्क कार्यक्रम राखिएको थियो। तर डढेको र भत्किएको घरमा के फर्किनु ? दम्भ र अहंकारले ध्वस्त भएको घरमा फर्किने पनि उस्तैउस्तै होलान् जस्तो लाग्छ।”


उनले नेकपा (एकीकृत समाजवादी)बाट रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायत नेताहरू एमालेतर्फ फर्किएको प्रसंगमा पनि टिप्पणी गर्दै भने, “त्यो फर्किने क्रम पनि स्वार्थ र भ्रमको परिणाम हो।”

एमाले अध्यक्ष ओलीले नेपाली कम्युनिस्ट पार्टीलाई ‘वृद्धाश्रम’ भनेको प्रसंग उठाउँदै प्रचण्डले कडा प्रतिक्रिया जनाए। उनले भने, “केपी ओलीजीले यहाँ रहेका नेताहरूलाई वृद्धाश्रम भन्नुभयो, यो आफ्नै अभिभावकको अपमान हो।”
त्यस्तै, उनले ओलीको शासनकालमा युवाहरूको आन्दोलनमाथि भएको दमन र निर्मम हत्या सम्झिँदै भने, “जेनजी युवाहरूले सुशासन र पारदर्शिताको माग गर्दै गरेको आन्दोलनमाथि दमन गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, तर ती युवाहरू अहिले हाम्रो आन्दोलनमा प्रवेश गर्दैछन्।”
कार्यक्रममा उनले नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई “नयाँ पुस्ता र अनुभवी नेताहरूको संयुक्त यात्रा” का रूपमा परिभाषित गर्दै, भविष्यमा जनताको पक्षमा निर्णायक भूमिका खेल्ने दाबी गरे।


