
काठमाडौँ : कैलाली कारागारबाट जेनजी प्रदर्शनका क्रममा भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन्। गत भदौ २४ गते भएको प्रदर्शनको क्रममा कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार भएका थिए।

कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार हालसम्म ४० महिला र ३९८ पुरुष गरी कुल ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन्। फरारमध्ये एक कैदीबन्दीले भने फरार अवस्थामै आत्महत्या गरेको जानकारी उहाँले दिनुभयो। अझै फरार रहेकामध्ये १९ जना भारतीय नागरिक रहेको पनि कारागार प्रशासनले जनाएको छ।
बिज्ञापन

घटनाको समयमा कैलाली कारागारमा ६६७ कैदीबन्दी रहेका थिए, जसमा ५८ जना महिला थिए। जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका थिए भने एक जना उपचाररत भएकाले भाग्न नसकेको र अर्को एक जना कारागारमै रहेको कारागार प्रमुख सापकोटाले बताउनुभयो।
“फर्किएका कैदीबन्दीमध्ये अधिकांश आफैँ सम्पर्कमा आएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी कारागार बुझाएको हो,” सापकोटाले भन्नुभयो। कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्कन सार्वजनिक सूचना जारी गरेको र प्रहरीले उनीहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।




