निःशुल्क १५ दिने बारिष्टा तथा ५ दिने होमस्टे तालिम सम्पन्न

 

काभ्रे । निःशुल्क १५ दिने बारिष्टा तालिम तथा ५ दिने होमस्टे तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरको समन्वयमा सञ्चालन गरिएको उक्त तालिम स्थानीय युवायुवतीलाई सीपमूलक र आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको थियो।

बिज्ञापन

समापन कार्यक्रमको सभापति नारायण लामाको अध्यक्षता तथा वडा नं. ११ का वडा अध्यक्ष नारायण प्रसाद बडालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम सञ्चालन प्रोपाइटर कामदेव शाह ठकुरीले गर्नुभएको थियो भने तालिम प्रशिक्षकका रूपमा मिनु शाह र रजिना थापा केसी रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नारायण प्रसाद बडालले सीपमूलक तालिमले स्थानीय स्तरमै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले बारिष्टा र होमस्टे जस्ता व्यवहारिक तालिम सञ्चालन गरिएको हो। तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा जोडिन सहभागीहरूलाई आग्रह गर्दछु।” साथै, उहाँले आगामी दिनमा पनि यस्ता सीप विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, कार्यक्रम सभापति नारायण लामाले तालिमले सहभागीहरूको आत्मविश्वास, सोच र व्यावसायिक क्षमतामा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “तालिम केवल प्रमाणपत्रमा सीमित हुनु हुँदैन, यसले व्यवहारिक जीवनमा प्रयोग भएर जीवनस्तर सुधार्ने माध्यम बन्नुपर्छ।

सहभागीहरूले सिकेको ज्ञानलाई व्यवसायिक रूपमा अगाडि बढाए वडा नं. ११ को पहिचान र आर्थिक गतिविधिमा उल्लेख्य योगदान पुग्नेछ।”

समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। स्थानीय युवायुवतीहरूको उल्लेख्य सहभागिता रहेको उक्त तालिमले कफी संस्कार, बारिष्टा सीप तथा होमस्टे व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।