
काभ्रेपलाञ्चोक । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नेतृत्वमा लापसे (मादक तथा लागुऔषध) सेवन जाँच गरिएको छ।

शीर मेमोरियल अस्पताल बनेपा, जिल्ला प्रहरी कार्यालय धुलिखेल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नं. १० अन्तर्गत डि मोडन पेट्रोल पम्प अगाडि, पुल बजार क्षेत्रमा उक्त चेकजाँच सञ्चालन गरिएको हो।

बि.पी. राजमार्ग र अरनिको राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा परिचालक गरी जम्मा ३४ जनाको लापसे जाँच गरिएकोमा ५ जना चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले बताउनु भयो ।


लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ती चालकहरुलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको धाँजुले बताउनुभयो।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्न यस्ता चेकजाँचलाई नियमित रूपमा निरन्तरता दिइने जनाएको छ।


