
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङबीच देखिएको राजनीतिक सहकार्यप्रति व्यंग्य गर्नुभएको छ। उहाँले यस्ता एकताले बलियो राजनीतिक शक्तिसँग मुकाबिला गर्न नसक्ने टिप्पणी गर्नुभयो।

मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले बाख्रा, कुखुरा र स्यालले मोर्चाबन्दी गरेर बाघ वा सिंहसँग जुध्न नसक्ने उदाहरण प्रस्तुत गर्नुभयो।
“कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको सिकार हुन्छ ? मुकाविला हुन्छ ?” उहाँले भन्नुभयो।

“दुब्लाको काम नै मोर्चा गर्ने हो। बलियासँग लड्नका लागि दुब्लाहरू एकताको कुरा गर्छन्,” उहाँले भन्नुभयो, “अस्ति पनि एकता भयो, हिजो पनि भयो, आज पनि हुन्छ, भोलि पनि हुन्छ।”


उहाँले केही व्यक्तिहरू मिलेर एमालेजस्तो ठूलो दलसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै व्यंग्यात्मक रूपमा “घैँटामा बोकेको पानीले महासागरसँग मोर्चा लगाए जस्तो” हुने टिप्पणी गर्नुभयो।


