

भक्तपुर । पछिल्लो समयमा सामाजिक विषय विद्यार्थीहरूका लागि गाह्रो तथा उत्कृष्ट अङ्क हासिल गर्न कठिन विषयका रूपमा परिचित हुँदै गएको सन्दर्भमा भक्तपुरमा अनुशिक्षण आयोजना गरिएको छ ।

उक्त कार्यक्रम एनप्याब्सन भक्तपुर (गीता राणा पक्ष) को आयोजनामा भएको हाे । SEE परीक्षालाई लक्षित गरी सामाजिक विषयसम्बन्धी भएको अनुशिक्षणमा विद्यार्थीहरूलाई व्यवहारिक अध्ययन विधि र परीक्षा रणनीतिबारे मार्गनिर्देशन प्रदान गरिएको थियो।


ग्रीन बुक्सद्वारा प्रकाशित सामाजिक विषयका पुस्तकका लेखक दिपक मर्हट्ठाले सहजीकरण गरेको उक्त कार्यक्रममा सामाजिक विषयलाई बुझाइ र विश्लेषणमा आधारित बनाएर अध्ययन गर्ने तरिकामा विशेष जोड दिइएको थियो।
कार्यक्रममा एनप्याब्सन भक्तपुर जिल्लाका संयोजक तथा विद्यालयका प्रिन्सिपल पुण्य राम कवांले परीक्षाका लागि सफलताको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति केन्द्रित भएर निरन्तर मेहनत गर्न आग्रह गरे।
सो अवसरमा पारागन एकेडेमीका प्रिन्सिपल एव् कवांले “Survival of the Fittest” भन्ने अवधारणामाथि धारणा राखेका थिए। उनले उक्त अवधारणा चार्ल्स डार्विनको प्राकृतिक छनोट सिद्धान्तसँग सम्बन्धित भए पनि “Survival of the fittest” भन्ने वाक्यांश समाजशास्त्री हर्बर्ट स्पेन्सरले पहिलो पटक प्रयोग गरेको उल्लेख गरे। जीवनका कठिन परिस्थितिमा सक्षम, अनुकूलन गर्न सक्ने र परिस्थिति बुझेर अघि बढ्ने व्यक्ति नै टिकिरहन्छन् भन्ने उनको भनाइ थियो। ज्ञान र बुझाइ कम भए पनि आफूलाई अत्यधिक सक्षम देखाउने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै देखावटी चतुराइभन्दा वास्तविक योग्यता र समझदारी नै दीगो सफलताको आधार हुने उनले बताए।
अनुशिक्षणका क्रममा लेखक दिपक मर्हट्ठाले सामाजिक विषयलाई घोकाइको विषयका रूपमा नभई बुझाइ र विश्लेषणमा आधारित विषयका रूपमा अध्ययन गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक विषय नेपाली भाषामा लेख्नुपर्ने हुँदैमा अनावश्यक रूपमा नआत्तिन विद्यार्थीहरूलाई सुझाव दिँदै सरल, स्पष्ट र आफ्नै शब्दमा उत्तर प्रस्तुत गर्न सके उत्कृष्ट अङ्क हासिल गर्न सकिने बताए।
मरहठ्ठाका अनुसार उत्तर लेख्दा प्रश्नको मागअनुसार संरचना मिलाउनु अत्यन्त आवश्यक छ। `परिचय–मुख्य व्याख्या–निष्कर्ष´ को ढाँचामा उत्तर लेख्दा परीक्षकलाई बुझ्न सजिलो हुने र अङ्क बढ्ने उनले बताए। साथै बुँदागत उत्तर लेख्ने, आवश्यक स्थानमा उदाहरण, तथ्य, नक्सा, तालिका र चित्र प्रयोग गर्ने तथा समय व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव थियो।
त्यसैगरी विगतका प्रश्नपत्रको अभ्यास, पाठ्यक्रममा आधारित सम्भावित प्रश्नको पहिचान र नियमित लेखन अभ्यासले सामाजिक विषयमा राम्रो नतिजा ल्याउन सहयोग गर्ने उनले बताए।
विद्यार्थीहरूसँगको अन्तरक्रियात्मक सत्रमा उनले आत्मविश्वासका साथ सफा अक्षरमा उत्तर लेख्न, अनावश्यक घुमाउरो भाषा प्रयोग नगर्न र सबै प्रश्न समेट्ने बानी बसाल्न आग्रह गरेका थिए
अनुशिक्षणपछि सहभागी विद्यार्थीहरूले कार्यक्रमले सामाजिक विषयप्रति रहेको डर हटाउन मद्दत गरेको, पढाइप्रति सकारात्मक सोच विकास भएको र परीक्षाको तयारीमा स्पष्टता आएको प्रतिक्रिया दिएका छन्। सहभागीहरूका अनुसार उक्त कार्यक्रमले परीक्षामात्र नभई समग्र जीवनमा सोच्ने क्षमता, विश्लेषण र निर्णय क्षमताको विकासमा समेत सहयोग पुर्याएको छ।
कार्यक्रमका संचालक रत्न राईले कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गरेका थिए।


