
काभ्रे । कुशादेवी माध्यमिक विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूले पनौती–सुन्थानस्थित फुटसल मैदानको शैक्षिक भ्रमण गरेका छन्। भ्रमणका क्रममा विद्यार्थीहरूले उत्साहपूर्वक फुटसल खेल खेल्दै रमाइलो गरेका थिए।

खेलकुदमार्फत बालबालिकाको शारीरिक तन्दुरुस्ती, टोली भावना, अनुशासन र आत्मविश्वास विकास गर्ने उद्देश्यले उक्त गतिविधि आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरू अत्यन्तै खुसी, सक्रिय र ऊर्जाशील देखिन्थे।

विद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालले यस्ता शैक्षिक भ्रमण र सह–पाठ्यक्रम गतिविधिले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कक्षाभित्रको पढाइसँगै यस्ता व्यवहारिक क्रियाकलापले विद्यार्थीको सिकाइलाई जीवनसँग जोड्न मद्दत गर्छ। यसले उनीहरूको आत्मविश्वास र सामाजिक सीपसमेत बढाउँछ।”


यसैगरी, खेलकुद संयोजक सुमन लामाको अनुसार खेलकुदमार्फत बालबालिकाले सिक्ने कुरा दीर्घकालीन हुने गर्दछ। उहाँले भन्नुभयो, “बालबालिकाले खेल्दै गर्दा आपसी सहकार्य, अनुशासन र नेतृत्व जस्ता महत्वपूर्ण गुणहरू सिक्छन्।
यस्ता अनुभवले उनीहरूको सिकाइ कक्षा बाहिरसम्म विस्तार हुन्छ।” कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण शिक्षक–शिक्षिकाप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।



