नेकपा एमाले कोशीद्वारा शान्तिपूर्ण आन्दोलन घोषणा

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले वर्तमान सरकारका निर्णय र गतिविधिलाई असंवैधानिक तथा प्रतिगमनकारी ठहर गर्दै सशक्त आन्दोलनमा उत्रने घोषणा गरेको छ ।

नेकपा एमाले नवनिर्वाचित सचिव तथा कोशी इन्चार्ज शेरधन राईले सरकारले निर्वाचनको रटान लगाएर प्रतिशोध साँधे प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेले गर्ने कार्यक्रम शान्तिपूर्ण हुने बताए ।

बिज्ञापन

उनले भने, ‘सरकार प्रतिशोध साँध्न उद्यत देखिएको छ यसो भए आजैदेखि सम्भावित प्रतिगमनकारी हर्कत र षडयन्त्र विरुद्ध, लोकतन्त्र र संविधानको रक्षा गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै एमालेले प्रदर्शन गर्छ ।’

सचिव राईले अहिले बनेको छानबिन आयोगले छानबिन गर्न सक्ने हैसियत नराख्ने बताए । उनले भने, ‘यो छानबिन समितिले पार्टी अध्यक्षलाई बयानमा बोलाएर प्रतिशोध साँध्ने तयारी गर्दैछ, सहेर एमाले बस्दैन ।’

उनले भने, ‘सरकारले गर्न सक्ने धरपकड, आगजानी, लुटपाट र तोडफोडका विरुद्ध उभिन र निजी तथा सरकारी र सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिक सुरक्षाका लागि आन्दोलन र जिल्ला कमिटी मार्फत सम्पूर्ण पार्टी पङ्क्तिलाई शान्तिपूर्ण रुपमा खबरदारी गर्न, सद्भाव र्यालीहरू गर्न र विभिन्न स्वरुपका प्रदर्शन गर्न मातहतका जिल्लालाई आह्वान गर्दछु ।’

सरकारद्वारा गठित छानबिन समितिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयान लिने बताइरहेका बेला कोशी प्रदेश कमिटीले छानबिन आयोगले बयान लिने हैसियत नराख्ने बताएको छ ।
‘असंवैधानिक सरकार’ले ‘बयान लिने’ नाममा प्रतिशोधपूर्ण व्यवहार, धरपकडलगायतका अनुचित कार्यहरु गरे एक सेकेण्ड पनि सहेर नबस्ने मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमालेले चेतावनी दिएको हो ।

प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले सरकारका कदमहरू स्वीकार्य नरहेको भन्दै आन्दोलन अपरिहार्य भएको बताए । “असंवैधानिक सरकारले गरेका निर्णय र कार्यहरू हामी मान्दैनौँ,” उनले स्पष्ट पारे ।

खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोधको उद्देश्य राखेको आरोप लगाइएको छ । त्यसविरुद्ध कोसी प्रदेशका १४ वटै जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जनाइएको छ ।

विज्ञप्तिमा हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७–२९) बाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएपछि पार्टीप्रति जनसमर्थन बढेको र त्यसबाट सरकार भयभीत भएको दाबी गरिएको छ । “देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगका नाममा अनावश्यक दुःख दिन खोजिँदैछ,” विज्ञप्तिमा उल्लेख छ ।

एमालेले २०८२ भदौ २३ र २४ का घटनासँग जोड्दै जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक सरकार गठन गरिएको आरोप लगाएको छ । यसले लोकतन्त्र र संविधानमाथि गम्भीर प्रहार भएको भन्दै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशको माग दोहोर्याइएको छ ।

आन्दोलनका कार्यक्रमअन्तर्गत कोसी प्रदेशका सबै जिल्ला कमिटीलाई शान्तिपूर्ण खबरदारी प्रदर्शन, सद्भाव र्याली तथा अन्य विरोध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ । साथै, सरकारी धरपकड वा प्रतिशोधपूर्ण कदमको कडा प्रतिवाद गरिने चेतावनी दिइएको छ ।

“असंवैधानिक सरकारका कुनै पनि प्रतिगमनकारी कदम र षड्यन्त्रविरुद्ध आजैदेखि प्रतिकार सुरु गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

एमालेले यो आन्दोलन पार्टीगत मात्र नभई लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताउँदै अन्य राजनीतिक दल, बौद्धिक वर्ग, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी तथा युवा–विद्यार्थीलाई ऐक्यबद्धता जनाउन अपिल गरेको छ ।