आर्थिक विकास मित्र सहकारीको २२औँ स्थापना तथा एकीकरण दिवस विविध कार्यक्रमसहित सम्पन्न

 

काभ्रे । “बाल, युवा, प्रौढको साथ—सबैसँग आर्थिक विकास” भन्ने मूल नाराका साथ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ स्थापना तथा एकीकरण दिवस विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमसहित सम्पन्न भएको छ।

बिज्ञापन

पौष ०५ गते पाँचखाल नगरसभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्व तथा पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यता रहेको थियो।

संस्थाका सचिव रामप्रसाद कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुन्दर तामाङ, नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल, संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार ईश्वरी राजकुमार मैनाली, सल्लाहकार रामशरण लुइटेल, जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा ढुङ्गाना सिपखान, लेखा सुपरिवेक्षण समिति संयोजक बद्रीप्रसाद आचार्य, सुनकोशी–पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछाने लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा संस्थामा नियमित कारोबार गर्दै आउनुभएका ७५ वर्ष उमेर पूरा गरेका १४८ जना जेष्ठ सदस्यहरूलाई वृद्ध सहारा लौरो, न्यानो टोपी, खुराक सामग्री तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा सुदृष्टि आइ केयर बनेपाको प्राविधिक सहयोगमा ९३ जना जेष्ठ सदस्यहरूको निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो भने पाँचखाल नगरपालिकाको समन्वय र पुस्तान्तरण नेपालको प्राविधिक सहयोगमा ८६ जना जेष्ठ सदस्यहरूको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरिएको थियो।

यसै अवसरमा नेपाल रेडक्रस सोसाइटी काभ्रेले स्थापना गर्न लागेको अक्षय कोषका लागि रु. २५,००० सहयोग रकम हस्तान्तरण गरिएको थियो। साथै ब्लड बैंक काभ्रेको समन्वयमा आयोजित खुला रक्तदान कार्यक्रममा ३३ जना रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो।

सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाको २२औँ स्थापना दिवस कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथि, सरोकारवाला निकाय, शुभेच्छुक तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरेको बताए।