
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने दुष्साहश नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकपटक संविधान मिचेर अन्तरिम सरकार गठन र संसद बिघटन भइसकेको भन्दै निर्वाचन सारेर पटक पटक संविधान मिच्ने दुष्साहश नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।

देशको असहज अवस्थालाई हेरेर अन्तरिम सरकार गठनका लागि आफुहरुले सहजीकरण गरेको उनको भनाइ छ । केहि अहंकारी र दम्भीहरुले धम्कीको भाषा बोल्ने गरेको भन्दै उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न नभए नेकपा चूप लागेर नबस्ने स्पष्ट पारे ।


निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेको उल्लेख गर्दै उनले केही तत्वले त्यसलाई प्रभावित पार्ने प्रयास गरिरहेको धारणा राखे । उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । देशको वाम इतिहासमा आफूहरुले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उनले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले एक भएर देशको चूनौति सामना गर्न आफुहरु तयार भएको भन्दै जनताले आगामी निर्वाचनमा विश्वास गर्ने बताए। जनताले आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा, बहुमत दिएको खण्डमा, अग्निपरीक्षा सुरु हुने उनको भनाइ छ ।
उनले जनताको चाहनालाई साकार पार्नको लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौं भन्ने पुष्टि गर्नैका लागि भएपनि एक पटक मौका दिन आग्रह गरे ।
सह–संयोजक नेपालले युवाहरुले राखेका मुद्दाहरुलाई अघि बढाउनका लागि पार्टीमा जेनजी पुस्तालाई पार्टीमा भित्राउँदै छलफल गरिरहेको जानकारी दिए । आफुहरुको बिचारलाई जनतामाझ सम्प्रेषण गर्ने अभियान निरन्तर चल्ने उनको भनाइ छ ।


