काभ्रेपलान्चोक – सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् ।
गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।
प्रहरीले लोकबहादुरलाई शुक्रबार पक्राउ गरेको हो । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको एक उच्च अधिकृतले जानकारी दिए । उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको बताइएको छ ।प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।
घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बराबद भएपछि स्थानीय लोकबहादुर कार्कीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो।अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार उनी अन्दाजी २६ वर्षीय हुन्। रगत लागेको कपडा र उक्त हतियारलाई प्रहरीले उम्लिङ घटनाको महत्वपूर्ण ‘क्लु’ को रूपमा लिएको ती प्रहरी अधिकारी बताउँछन्।
हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर हत्या गरे ।
आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । मृतक सवैको टाउकोमा चोट लागेको छ ।
– अपडेट खबर बाट