
मिलन नेवार नेपालकी प्रसिद्ध गायिका हुन्। उनले नेपाली बसोबास गर्ने विश्वका धेरै देशमा स्टेज शो गरिसकेकी छिन् । उनले आधुनिक, गजल, फिल्मी, लोक लगायत अहिलेसम्म धेरै प्रकारको गीत गाइसकेकी छिन् । एक दर्जनभन्दा बढी भाषामा गीत गाइसकेकी मिलनको संगीत यात्रा व्यक्तिगत र व्यावसायिक दुवै प्रकारका उपलब्धिहरूले भरिएको छ ।

बाल्यकाल, संगीतमा प्रेरणा र प्रशिक्षण :
मिलन नेवारको जन्म बुबा गणेश नेवार र आमा अम्बिका नेवारको कोखबाट सन् १९८६ जनवरी २५मा भएको हो । उनको जन्म र हुर्काई बढाई भारतको आसामस्थित नुनाइखुटी गोरियाझारको नेपाली परिवारमा भएको हो । बाल्यवस्थामा देखि नै उनले नेपाली र राजस्थानीसँगै भारतका सबै प्रमुख उत्तर पूर्वी भाषाहरू (आसाम, बोडो, मिशिङ) मा पनि गीत गाइन्। संगीतमा उनको पहुँच बाल्यकालदेखि नै सुरु भएको थियो । उनले ४ वर्षको उमेरमा नै संगीतको प्रशिक्षण एचआर बिथप्लेसमा सुरु गरेकी थिइन् । ११ वर्षको उमेरमा उनी संगीतमय अध्ययनकै लागि लागि गुवाहाटी सरिन्।
मिलनको संगीत अध्ययन आफ्नो बुबा र आमाको स्याहारमा मात्र सीमित थिएन। उनले आफ्नी ठुलीआमा डुकुना नेवारबाट पनि अध्ययन गरिन् । डुकुना नेवार आसामकी चर्चित गायिका हुन्।

मिलनले चार/पाँच वर्षको उमेरदेखि बुबाको हात समाएर हार्मोनियममा सारेगम गाउन थालिन्। त्यसपछि स्कुलका आँगन हुँदै ठूला स्टेजसम्म आफ्नो क्षमता देखाइन्। आसाम छँदै उनले ’कालो धुवाँ’, ’सिलोंग सहर’ जस्ता गीत पनि रेकर्ड गराइन्।


२००३, उनको जीवनको एकदमै महत्वपूर्ण वर्ष साबित भयो। यो वर्षको अक्टोबर ३० मा, उनले सुरगंगाद्वारा आयोजित अखिल भारतीय संगीत प्रतियोगिता प्रगनाएजमा भाग लिइन्। कार्यक्रम आसामी र राजस्थानी लोकगीतहरूमा आधारित थियो र कार्यक्रमको निर्णायक बलिउडका प्रसिद्ध संगीतकार स्वर्गीय नौशाद अली र प्रसिद्ध गजल गायक पिनाज मसानी थिए भने प्रसिद्ध शास्त्रीय गायिका सुशीला रानी पटेल पनि थिइन्।
मिलन उक्त कार्यक्रममा पहिलो रनरअप थिइन् र यसपछि पछाडि फर्केर हेर्नु परेन। यस प्रतियोगिता पछि उनले लोकगीतहरूको आफ्नै एल्बम लन्च गर्न समर्पित गरिन् र उनको संगीतमय यात्रा फेरि फस्टाउन थाल्यो।
नेपाल आगमन :
मिलनका पुर्खा खाँदबारी, संखुवासभाबाट आसाम पुगेका थिए। उनका बुबाले ’पुर्खाको माटो चिन्नु पर्छ।, पुख्र्यौली थातथलोका लागि पनि केहि गर्नुपर्छ ।’ भनिरहन्थे । परिवारकै चाहनामा मिलन पुर्खाको माटोलाई आफ्नो कर्मभूमि बनाउन नेपाल आइन्। नेपाल आएपछि यतै उनको मेन्सन अमात्यसँग विवाह पनि भयो तर उनको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । शास्त्रीयदेखि राजस्थानी लोकसंगीतसमेत सिकेकी मिलनले छोटो समयमा यहाँका स्थापित कलाकारसँग काम गरिन्। फिल्मी र गैरफिल्मी गीतमा उनको माग बढ्यो। देश–विदेशका सांस्कृतिक कार्यक्रम र स्टेजमा उत्तिकै व्यस्त रहिन्। सबै खाले गीत गाउन सक्ने गायिकाका रूपमा स्थापित भइन्।
प्रारम्भिक करियर र उपलब्धिहरू :
गुवाहाटी आएपछि, उनी उत्पादन कम्पनी ‘सुरगंगा’ मा सामेल भइन् जसले हालसम्म राजस्थानी लोकगीतका ४० एल्बम, १० आसामी, ४ बोडो एल्बम र १० नेपाली एल्बमहरू र हजार बढी गीतहरु रिलिज भइसकेका छन् ।
चर्चित गीतहरु :
एक दर्जनभन्दा बढी भाषामा गीत गाइसकेकी छिन् । उनले आधुनिक, गजल र रोमान्टिक, डान्सिङ, सेन्टिमेन्टल, फिल्मी लगायत अहिलेसम्म धेरै प्रकारको गीत गाइसकेकी छिन् । सयौं गीत हिट पनि भएका छन् । जसमध्ये ‘गाला रातै’ ‘स्लोली स्लोली’ ‘फूलबुट्टे सारी’, ‘जनम जनम जिउँलासँगै’, ‘बनमा फूल्यो’, किन शंका गछौ’, तिमी उता म यता, उडायो उडायो, ‘चरीले काफल टिप्यो’, ‘सुनसान रातमा’ लगायत, मा मिलनकै सुमधुर स्वर सुन्न सकिन्छ ।
पहिलो एल्बम – कान्छी (२००४)
पहिलो रेकर्ड गरिएको गीत – खुनमणी आकोउ अनुपमा (आसाम सांस्कृतिक एल्बम – बिहु – २००२ ईस्वी।
कुल गीतहरू – १००० भन्दा माथि
अवार्ड :
मिलनले इमेज अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, निम अवार्ड लगायतका थुप्रै अवार्डहरु चुम्न सफल भएकी छिन् ।
शैक्षिक योग्यता :
मिलनले स्नातकोपाधिको प्रमाणपत्र सहित विभूषित भइसकेकी छिन् । उनले ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला शास्त्रीको परीक्षामा उत्तीर्ण भइ स्नातकोपाधि पाएकी हुन् ।
प्रशिक्षक कोच :
मिलनले द भ्वाइस अफ नेपाल र द भ्वाइस किड्स रियालिटी शोको प्रशिक्षकको अनुभव समेत बटुलेकी छिन् । उनी द भ्वाइस अफ नेपाल सिजन ५ को विजेता प्रशिक्षक समेत हुन् ।


