


कलैया । विश्वकै सबैभन्दा अग्लो स्थानमा रेस्लिङ्ग प्रतियोगिता मनाङको तिलिचो तालमा बुधबार सम्पन्न भएको छ। महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा सम्पन्न प्रतियोगिता गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको आयोजकले जनाएको छ।


मनाङ ङिस्याङ गाउँपालिका–९ मा आयोजित प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति थियो।
पहिलो महाभिडन्तमा नेपाली महिला खेलाडी भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली)ले अमेरिकी प्रतिद्वन्द्वीलाई पराजित गर्दै विश्वकै अग्लो स्थानमा विजयी भई रेकर्डमा नाम लेखाए।

दोश्रो खेलमा सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण ब. मगरले लोकु सिङलाई पराजित गर्दै पुरुष वर्गमा उपाधि जिते। दुवै खेलमा रेफ्रीको भूमिकामा कृष्ण मगर स्वयं तथा अस्मिता सुनारले जिम्मेवारी सम्हाले।
कार्यक्रममा मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले प्रमुख अतिथि रहेका थिए। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेल, गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङ, वडा अध्यक्ष चोल्पा गुरुङ लगायत स्थानीय प्रतिनिधि र समाजसेवीहरूको विशेष उपस्थिति थियो।
फाउन्डेसनका अध्यक्ष भगवती खड्का (युनिका)ले विभिन्न व्यक्तित्वलाई सम्मानपत्र वितरण गर्दै कार्यक्रम समापन गरे।


