
बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा नेपाली भाषाको शुद्धता, व्यावहारिक प्रयोग र शिक्षण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली भाषा व्याकरणसम्बन्धी एकदिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

सोमबार प्याब्सन बनेपाको आयोजनामा बनेपास्थित गौतम भिलेज रिसोर्टमा सम्पन्न तालिममा बनेपा क्षेत्रका ४५ वटा विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममा करिब ८० जना शिक्षक–शिक्षिकाहरू सहभागी भएको जानकारी प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टले दिनुभयो।

तालिममा नेपाली भाषा व्याकरणका आधारभूत तथा व्यवहारिक पक्ष, शिक्षण क्रममा देखिने भाषिक त्रुटि, लेखन र अभिव्यक्तिको स्पष्टता लगायत विषयमा केन्द्रित रहेर छलफल तथा प्रस्तुति गरिएको थियो। सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।


शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षकहरूको पेशागत क्षमता विकासका लागि प्याब्सन बनेपाले समय–समयमा यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाइएको छ। यही निरन्तरताको रूपमा उक्त तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै प्रशिक्षक, सहभागी विद्यालय तथा सहयोगी संस्थाप्रति आयोजक प्याब्सन बनेपाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।


