


काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो ।


कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि विकेटकिपर विनोद भण्डारीले अविजति ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एकरएक विकेट लिए ।
यसअघि, टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भएको थियाे ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै, डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा र हेमन्त धामीले ३–३ विकेट लिए भने स्कट कुगेलेइजन र हर्मित सिंहले पनि ३–३ विकेट लिए ।
लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ । सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ ।


