


निराज रानाभाट, नवलपुर । ‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले नवलपुरमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ ।


कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार यो कार्यक्रम एकै चरणमा सम्पन्न हुने छ र पूर्ण रूपमा अनलाइन मोडमै सञ्चालन हुने छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । ‘युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ’, लामिछानेले भने । सहभागीहरूले एकै पटक आफ्नो प्रस्तुतीकरण अनलाइन मार्फत गर्ने छन् । यहीँ एक प्रस्तुतीकरणका आधारमा परिणाम तय गरिने छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्वारा मूल्यांकन हुने छ ।

उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ मा सहभागी इच्छुक युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक तथा माध्यममार्फत साथै फोन ( ९७४५२९०२८३ ) मार्फत दर्ता गर्न सक्नेछन् । उक्त कार्यक्रममा सहभागिताको लागि १५ देखि ४० वर्षसम्मका नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ ।
‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ को शीर्षक र थप व्यवस्थापकीय विवरण केही दिनमै आयोजकले सार्वजनिक गर्ने तय गरेको छ । उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । देशभरका युवाहरूलाई यस अभियानमा जोडिन आयोजकहरूले आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् । यस्तै, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश तथा युवा अभियान नेपाल र मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. ( कावासोती, नवलपुर ) रहेका छन् ।
उक्त कार्यक्रमको उद्देश्यहरू ;
स्पष्ट र प्रभावकारी वक्ता उत्पादन
युवाहरूलाई आत्मविश्वासका साथ विषयवस्तु प्रस्तुत गर्ने क्षमता विकास ।
नेतृत्व विकास
सार्वजनिक संवाद, तर्कशक्ति र निर्णय क्षमतालाई नेतृत्व विकासको आधार बनाउने ।
तर्कशक्ति र विश्लेषण क्षमतामा वृद्धि
स्पष्ट सोच, तथ्य विश्लेषण र विषयवस्तुको संगठित संरचना निर्माणमा दक्षता वृद्धि ।
अभिव्यक्ति सहजता र डिजिटल स्टेज म्यानर
अनलाइन माध्यममा कसरी प्रस्तुत हुने, क्यामेरा म्यानर, भाव – भंगिमा, आवाज, आदिमा सुधार ।


