
धुलिखेल – काभ्रेको खानीखोला गाउँपालिकाका वडा नं. ३ जुरे र वडा नं. ७ धाप्लेमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न स्थानीय प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी (सिडियो) समक्ष निवेदन पेश गरेका छन्।


वडा अध्यक्ष सागर लामा, समाजसेवी तथा युवा नेता राजन अधिकारीसहितको टोलीले पेश गरेको निवेदनमा उल्लेख गरिएको छ कि हाल जुरे क्षेत्र फलामेटार प्रहरी चौकी र धाप्ले क्षेत्र ताल्ढुङ्गा प्रहरी चौकीअन्तर्गत पर्दछन्। दुवै चौकी भौगोलिक रूपमा टाढा भएका कारण सर्जमिन मुचुल्का तयार पार्नेदेखि स्थानीय समस्या समाधानसम्म सेवामा ढिलाइ हुने र असहजता भएको गुनासो रहेको छ। त्यसैले तत्काल क्षेत्रमै अस्थायी प्रहरी पोष्ट आवश्यक रहेको स्थानीयहरूले माग गरेका छन्।


निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै विषय अध्ययन गरी आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। साथै, उनले राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन गाउँ–गाउँमा घुम्ती शिविर सञ्चालनको तयारी भइरहेको जानकारी पनि दिएका छन्।



