बन्चरेडाँडामा फोहोर अवरोध अन्त्य : सरकार, स्थानीयवासी र जनप्रतिनिधिबीच ११ बुँदे सहमति

# बन्चरेडाँडामा फोहोर अवरोध अन्त्य : सरकार, स्थानीयवासी र जनप्रतिनिधिबीच ११ बुँदे सहमति
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर ०५, २०८२
बन्चरेडाँडामा फोहोर अवरोध अन्त्य : सरकार, स्थानीयवासी र जनप्रतिनिधिबीच ११ बुँदे सहमति

काठमाडौँ :- सरकारले माग पूरा नगरेको भन्दै नुवाकोटको बन्चरेडाँडामा फोहोर विसर्जन रोकिएको दुई दिनपछि समस्या समाधान भएको छ। सरकार, स्थानीयवासी र जनप्रतिनिधिबीच बिहीबार सहमति पत्रमा हस्ताक्षरसँगै अवरोध हटेको हो।

स्थानीयवासीले पटक–पटक माग राख्दा पनि सरकारबाट ठोस निर्णय नआएको गुनासो गर्दै बुधबारदेखि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जन रोकिएका थिए। लगातारको छलफलपछि सहरी विकास मन्त्रालयमा ११ बुँदे सहमति बनेपछि अवरोध फुकुवा भएको हो।

बिज्ञापन

सहमतिअनुसार फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लागेको मुद्दा फिर्ता गर्न पत्राचार गर्ने, ल्यान्डफिल्ड साइटको ईआईए (Environmental Impact Assessment) तत्काल तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण प्रक्रिया सुरु गर्ने लगायतका बुँदाहरू समावेश छन्।

यसबाहेक, काठमाडौँ महानगरपालिकाले प्रभावित दुई पालिकालाई दिने ३÷३ करोड सहयोग बढाएर ६÷६ करोड पुर्‍याउने र आगामी आर्थिक वर्षदेखि बेलकोटगढी नगरपालिकालाई पनि समावेश गर्न अनुरोध गर्ने सहमति भएको छ। साथै तीनपिप्ले–कुमारी–गल्छी सडक निर्माणलाई यसै आर्थिक वर्षमा बहुवर्षीय परियोजनाका रूपमा अगाडि बढाउने प्रक्रिया सुरू गर्ने उल्लेख छ।

काठमाडौँ उपत्यकाको फोहोरका कारण नुवाकोटको ककनी र बेलकोटगढी तथा धादिङको धुनीवेशी नगरपालिकाका बासिन्दा वर्षौंदेखि प्रभावित हुँदै आएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी र दीर्घकालीन विकासका योजनामा सरकार सक्रिय नभएको भन्दै उनीहरूले गुनासो व्यक्त गर्दै आएका थिए।

सहमति भएपछि बन्चरेडाँडामा दैनिकरूपमा चल्ने करिब ३०० ट्रक फोहोर विसर्जन कार्य सामान्य रूपमा पुनः सुरु हुने भएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up