
बनेपा । प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न हुँदै फिरोज शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।


नवगठित कार्यसमितिमा सचिव बलराम मानन्धर, कोषाध्यक्ष धनबहादुर कर्माचार्य तथा सदस्यहरू—कल्पना सापकोटा, गणेशबहादुर भुजेल र पूर्णकाजी मानन्धर रहेका छन्। यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा पूर्णिमा प्रधानाङ्ग, सदस्यमा राजु मानन्धर र सरस्वती श्रेष्ठ चयन भएका छन्।


साधारण सभा संस्थाका अध्यक्ष सागर कपालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष कपालीले देशको आर्थिक अवस्था स्थिर हुन नसक्दा सहकारी क्षेत्र बढी प्रभावित भएको बताए। लगानीका क्षेत्रहरू सुस्ताएका कारण सहकारीहरूमा तरलता थामिएको भए पनि प्रभात सहकारीले आफ्नो संरचना र सेवालाई मजबुत रूपमा अघि बढाउन सफल रहेको उनको भनाइ थियो।

कपालीले सहकारीमा सामान्य नागरिकको पहुँच सहज रूपमा पुगेको र सहकारीले सदस्यहरूको आर्थिक स्तर उकास्न निरन्तर योगदान गर्दै आएको बताए।
सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सचिव सुमन चौ प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बलराम मानन्धर र लेखा प्रतिवेदन संयोजक भरत दाहालले प्रस्तुत गरेका थिए।
सहकारीको हालको अवस्थाबारे जानकारी गराउँदै सभामा कुल शेयर पूँजी ६२ लाख, बचत रकम २ करोड ९१ लाख ९७ हजार रहेको उल्लेख गरिएको थियो।
कार्यक्रममा एसईई उत्तीर्ण बाल सदस्य, उत्कृष्ट ऋणी तथा उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन पूर्णिमा प्रधानाङ्गले गरेकी थिइन्।


