
काठमाडौँ, कार्तिक १८,
नेपाल कम्युनिस्ट पार्टी का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको पार्टी बाट अलग भएर बनेको चिरन सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न वामपन्थी शक्तिहरूसँग भोली कार्तिक १९ गते ऐतिहासिक एकता घोषणा गर्ने निर्णय गरेको छ ।


बैठकले एकता पश्चात् पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिन्ह पाँच कुनें तारा रहने निर्णयसमेत गरेको छ । यस निर्णयलाई पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनको दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा भनेको छ । आठ दल सहित नेपाल कम्युनिस्ट पार्टी को समेत एकीकरण हुनेछ। लामो समयदेखि विभाजित र कमजोर बनेको वाम आन्दोलनलाई एक ढिक्का बनाउँदै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने संकल्पसमेत पार्टीका प्रबक्ता जितेन्द्र सी ले जानकारी दिएका छन्।


बैठकमा अध्यक्ष चिरन सीले वाम एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएको बताउँदै जनताको मुक्ति र देशको रूपान्तरणका लागि सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने विचार व्यक्त गरे । उनका अनुसार, यो एकता कुनै ठूला नेताको व्यक्तिगत स्वार्थका लागि होइन, जनआकांक्षा र आन्दोलनको निरन्तरताका लागि हो ।

पार्टीको दोस्रो पूर्ण बैठकले आगामी राजनीतिक दिशानिर्देश, संगठन सुदृढीकरण, र जनघटना केन्द्रित अभियानबारे समेत विस्तृत छलफल गरी निष्कर्ष निकालेको कुरा प्रबक्ता जितेन्द्र सी ले जानकारी दिए । पार्टीले वामपन्थी एकतालाई नेपालको राजनीतिक स्थायित्व र समाजवादी रूपान्तरणको मुख्य आधारका रूपमा व्याख्या गरेको छ ।


