
नेपाल चलचित्र कलाकार संघले कार्यसमितिमा रिक्त रहेका पदहरूमा चारजना नयाँ पदाधिकारीलाई मनोनीत गरी एक कार्यक्रमबीच शपथ ग्रहण गराएको छ । संघको यही कात्तिक २ गते बसेको बैठकले विधान परिच्छेद-८ को दफा २६ अनुसार दुई उपाध्यक्ष र दुई सदस्यको मनोनयन गरेको थियो । सोअनुसार जयन्त रेग्मी र राजकुमार शाह उपाध्यक्षमा तथा जीवन थापा र श्रीदेव भट्टराई सदस्यमा नियुक्त हुनुभएको छ । अध्यक्ष मोहन निरौलाले चारैजना पदाधिकारीलाई शपथ गराउनुभएको हो ।


कार्यक्रममा संघका कोषाध्यक्ष सुनिल कटुवाललाई आगामी नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा हुने इन्टरनेसनल फेडेरेसन अफ एक्टर्स एफआइएको अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न लागेकामा बधाई तथा शुभकामना प्रदान गरिएको थियो । सो सम्मेलनमा ६० देशका ४५० भन्दा बढी चलचित्रकर्मी र संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम पनि रहेको छ ।


सो अवसरमा अध्यक्ष निरौलाले सदस्यता वितरण र नवीकरणमा विधानअनुसारको मापदण्ड कडाइका साथ लागू गरिएको, लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाइएको तथा संघका अन्य सुधारात्मक कार्यहरूबारे जानकारी गराउनुभएको थियो ।

नवनियुक्त पदाधिकारीहरूलाई चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, वरिष्ठ चलचित्रकर्मी तथा कानुनी सल्लाहकार कृष्ण ढुंगानालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल ‘बैरागी’ले स्वागत मन्तव्य राख्नु भएको थियो । संघका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा सम्पन्न सो समारोहको सहजिकरण गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो ।


