“बनेपामा उप-प्रमुख बिमला सापकोटापछि देवी खत्रीको साहसिक कदम : समाजभर प्रशंसा”

 

बनेपा । बनेपा नगरपालिका–११, अधिकारीगाउँकी देवी खत्रीले परम्परागत मान्यता तोड्दै आफ्नी सासुको किरिया बसेकी छन् । छोराछोरी वा नजिकका पुरुष सदस्यले मात्र किरिया बस्नुपर्ने परम्परागत परिपाटीलाई तोड्दै उनले दागबत्ती दिँदै किरिया समेत बसेकी हुन् ।

बिज्ञापन

देवीकी सासु पदमकुमारी खत्रीको ७६ वर्षको उमेरमा निधन भएको थियो । पदमकुमारीका छोरा हरिकृष्ण खत्रीको भने २५ वर्षअघि नै मृत्यु भइसकेको थियो । श्रीमानको मृत्यु पश्चात पनि परिवार र समाजप्रति जिम्मेवारी निर्वाह गर्दै आएकी महिला स्वास्थ्य स्वयंसेविका देवीको यो कदमलाई स्थानीयहरूले प्रशंसा गरेका छन् ।

यसअघि बनेपा नगरपालिका उप–प्रमुख बिमला सापकोटा दाहालले आफ्ना बुबाको किरिया बसेर समाजमा नयाँ उदाहरण प्रस्तुत गरेकी थिइन् । त्यस्तै, पनौती नगरपालिका–१ (साविक र्याले गाविस) का स्व. हरि प्रसाद सापकोटाको निधनपछि उनकी छोरीहरू बिमला, निर्मला र राधिका सापकोटाले किरिया बस्ने निर्णय लिएर समाजलाई सशक्त सन्देश दिएकी थिए । उनीहरूको कदमलाई तत्कालीन राष्ट्रपति तथा प्रधानमन्त्रीसम्मले प्रशंसा गरेका थिए ।

आजै उप–प्रमुख बिमला सापकोटा दाहालले किरिया बसेकी देवी खत्रीलाई भेटेर नगद सहयोगसमेत प्रदान गरिन् । उनले देवीको कदमलाई ऐतिहासिक भन्दै आवश्यक परे जे–जस्तो सहयोग गर्न तयार रहेको बताइन् । “समाज परिवर्तन हाम्रै पालामा गर्नु पर्छ, सबै महिला दिदीबहिनीले फरक सोच लिएर अघि बढ्नुपर्छ,” दाहालले भनिन् । देवी खत्रीको यो साहसिक कदमले समाजमा महिलाको भूमिका र अधिकारलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

सहयोग हस्तान्तरण तथा भेटघाट कार्यक्रममा बिमला सापकोटाकी बहिनी निर्मला सापकोटा, बनेपा नगरपालिका–१० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, वडा नं. ११ का अध्यक्ष शिवकुमार थापा, नेकपा एमाले बनेपा नगर कमिटीका सचिव पवनकुमार केसी, उप–सचिव बिक्रम प्रजापति, वडा कमिटी अध्यक्ष जयराम गिरी, सचिव सुजन तिमल्सिना लगायतका एमालेका नेता तथा कार्यकर्ताको उपस्थित थियो ।