अबिरल वर्षाले क्षतिग्रस्त भुम्लुका सडक मर्मतपछि सुचारु

 

काभ्रेपलाञ्चोक — अबिरल वर्षाले क्षति पुर्‍याएका भुम्लु गाउँपालिका अन्तर्गतका विभिन्न सडकखण्डहरू मर्मतपछि पुनः सुचारु भएका छन्। गाउँपालिकाले स्थानीय यातायात आवागमन सहज बनाउन प्राथमिकताका साथ मर्मत कार्य अघि बढाएको जनाएको छ।

बिज्ञापन

गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङका अनुसार सापिङदेखि सिमथली र सल्लेदेखि दुदुगाउँ सडकखण्डमा आवश्यक मर्मतसम्भार कार्य सम्पन्न भई यातायात सञ्चालनमा आएको छ। यसैबीच, सिमथलीदेखि वाफल सडकखण्ड भने आगामी भोलीदेखि मर्मत कार्य सुरु हुने जानकारी उनले दिएका छन्।

अबिरल वर्षाका कारण सो क्षेत्रका धेरै ठाउँमा सडक भासिने, बग्ने र पैदल यात्री समेत आवतजावत गर्न कठिन हुने अवस्था उत्पन्न भएको थियो। गाउँपालिकाको पहलमा स्थानीयवासी, जनप्रतिनिधि तथा प्राविधिकको सहकार्यमा मर्मत कार्य तिब्र गतिमा अगाडि बढाइएको उपाध्यक्ष तामाङले बताए।

उनी भन्छन्, “स्थानीयवासी र यात्रुहरूको सहजताको लागि मर्मत कार्य निरन्तर भइरहेको छ। कृपया यात्रा गर्दा सावधानी अपनाउनुहोस् र कुनै समस्या परे तुरुन्तै गाउँपालिकालाई जानकारी गराउनुहोस्।”

भुम्लु गाउँपालिकाले सडक सुधारसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि स्थायी पूर्वाधार निर्माण र व्यवस्थापन योजनासमेत तयारी गरिरहेको जनाएको छ।