



हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित सिम्पानी युथ क्लबले दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि हात पारेको छ।



मंगलबार चितवनको राप्ती नगरपालिका, सिमरा खेलमैदानमा सम्पन्न फाइनलमा सिम्पानीले आयोजक सिमरा युवा समाजलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। साविक विजेता समेत रहेको सिम्पानीका लागि खेलको दोस्रो हाफमा रोशन दोङले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए।
यसअघि आइतबार फाइनल खेलमै विवाद उत्पन्न भएपछि खेल स्थगित भएको थियो। दोस्रो हाफको तेस्रो मिनेटमा आयोजक सिमराका डिफेन्डरले डी–एरियाभित्र ह्याण्ड बल गरेपछि सिम्पानीलाई रेफ्रीले पेनाल्टी दिएको थियो। तर सो निर्णयलाई आयोजक टोलीले दबाबका कारण फिर्ता गराउन खोजेपछि सिम्पानीले खेलमैदान छोडेको थियो। दुवै पक्षबीच सहमति भएपछि मंगलबार स्थगित खेल दोस्रो हाफबाट पुनः सुरु गरिएको थियो।
प्रतियोगितामा विजेता बनेको सिम्पानी युथ क्लबले नगद ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता आयोजक सिमरा युवा समाजले ३५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
व्यक्तिगत पुरस्कारतर्फ सिम्पानीकै गोलरक्षक अस्मिर गोङ्बा ‘म्यान अफ द म्याच’, ‘बेष्ट प्लेयर अफ द टुर्नामेन्ट’ र ‘उत्कृष्ट गोलरक्षक’ घोषित भए। त्यस्तै, मिलन स्याङ्तान सर्वाधिक गोलकर्ता बने।
सिम्पानीले सेमीफाइनलमा बागमती प्रदेश प्रहरीगणलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो भने क्वार्टरफाइनलमा लामा स्पोर्टस् क्लबलाई १–० ले हराएको थियो।
भदौ ३० गतेदेखि सुरु भएको प्रतियोगितामा कुल २४ टिमले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ।