



बनेपा । नगरको एक मात्र विद्युतिय सञ्चार माध्यम ग्रामिण सूचनाका लागि सामुदायिक रेडियो मध्यपूर्व एफ.एम. १०४ मेगाहर्जले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व रेडियोका अध्यक्ष रामकृष्ण बन्जाराले गर्नुभएको थियो भने बागमती प्रदेशसभा सदस्य माननीय रत्न प्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमका विशेष क्षणमा समाजसेवामा सक्रिय योगदान पुर्याउँदै आएकी समाजसेवी अनिला कायस्थलाई “मध्यपूर्व सम्मान २०८२” द्वारा सम्मानित गरिएको छ । उक्त सम्मान प्रमुख अतिथि माननीय रत्न प्रसाद ढकाल र सभापति रामकृष्ण बन्जाराले संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।
रेडियोले नारी सशक्तीकरण, समाजसेवा र सांस्कृतिक मूल्यको संरक्षणमा लागेका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसै क्रममा अनिला कायस्थले समाजसेवामा पुर्याउँदै आएको निरन्तर योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।