


आईजीपी दानबहादुर कार्कीले देशभर शान्ति–सुरक्षा सुदृढ गर्न, अपराध रोकथाम तथा अनुसन्धानमा परिणाममुखी कार्यशैली अपनाउन कडाइका साथ निर्देशन दिएका छन् ।


लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा आयोजित निर्देशन–सम्बोधन कार्यक्रममा आईजीपी कार्कीले सुरक्षा संवेदनशीलता बढ्दै गएको वर्तमान परिवेशमा प्रहरी संगठनले आफ्नो भूमिकालाई झन् प्रभावकारी, पारदर्शी र जिम्मेवार बनाउनु जरुरी रहेको बताएका हुन् ।

कार्यक्रममा उपस्थित प्रहरी अधिकारी तथा कर्मचारीलाई सम्बोधन गर्दै उनले शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण एवं अनुसन्धान, आसन्न निर्वाचन सुरक्षाका पूर्वतयारी, ट्राफिक व्यवस्थापन, प्रहरी आचरण र अनुशासन, आर्थिक पारदर्शिता, कार्यालय सञ्चालन र जनशक्ति व्यवस्थापन जस्ता विषयमा स्पष्ट निर्देशन दिए ।
त्यस्तै उनले धार्मिक तथा साम्प्रदायिक संवेदनशीलताका घटनाको पहिले नै पूर्वानुमान गरेर उचित सुरक्षा तयारी गर्न, प्रहरी कर्मचारीको गुनासा व्यवस्थापन र मनोबल अभिवृद्धि, अपराध प्रवृत्ति विश्लेषणका आधारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुदृढ गर्न, आपतकालीन सुरक्षा योजनाको तयारी, आन्तरिक शुद्धिकरण, भिड व्यवस्थापन र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताए ।
संगठनको गोपनीयता, विपद् व्यवस्थापन तथा व्यावसायिक निष्ठा कायम राख्नु आजको आवश्यकता भएको उल्लेख गर्दै आईजीपी कार्कीले प्रहरी संगठनलाई आधुनिक, जनमैत्री र विश्वासिलो बनाउने प्रतिवद्धता पुनः दोहोर्याए ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट, तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राकेश सिंहसहित प्रदेशभरका प्रमुख प्रहरी कार्यालयबाट अधिकारीहरूको उपस्थिति थियो ।


