

धुलिखेल, काभ्रे — धुलिखेल नगरपालिका–११ मा अवस्थित पातलेखेत होमस्टे पछिल्ला दिनहरूमा विदेशी पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै गएको छ। वर्षायामको चिसोपन र चिप्लो बाटोको बाबजुद पनि यहाँ विदेशी पाहुनाहरूको चाप दिनप्रतिदिन बढ्दो छ।


पाहुनालाई स्वागत गर्न नेपाली परम्परा र तामझाम अपनाइन्छ — ढोल, पाइला छोप्ने र फूलमालाले सत्कार गरिन्छ। यस होमस्टेमा बसोबास गर्ने पाहुनाहरूले नेपाली कला र संस्कृति नजिकबाट अनुभूति गर्न पाउँछन्। यहाँको अर्को विशेषता भनेकै अर्गानिक खाना, जसमा घरमै उत्पादन गरिएको सागसब्जी, धान, गहुँ, र शुद्ध मह पाहुनालाई परोसिन्छ।



टपरी बनाउने सीप, कृषि प्रणालीको तालिम, र स्थानीय जीवनशैलीको साक्षात्कार यस ठाउँका थप आकर्षण हुन्। पाहुनाहरू आफ्नै हातले पातको टपरी बनाउने, खेतबारीमा काम गर्ने अनुभव लिने, र गाउँले जीवनशैलीसँग घुलमिल हुन पाउँछन्।

पातलेखेत होमस्टेका सञ्चालकहरू भन्छन्, “हामी नेपालीपनको स्वाद मात्र हैन, आत्मियता र संस्कृतिको गहिरो झलक पाहुनालाई दिन चाहन्छौं।”
धुलिखेल जस्तो रमणीय स्थानमा अवस्थित यो होमस्टेले सामाजिक, सांस्कृतिक र आर्थिक दृष्टिले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्दै आएको छ।