
सर्लाहीका युवा उज्ज्वलकुमार कार्की पछिल्ला दिनमा सामाजिक सञ्जालमा निकै चर्चित बनेका छन्। कारण—उनले ढाडमै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चित्र ट्याटु खोपेका छन्। आफूलाई ‘ओलीको नम्बर-एक फ्यान’ मान्ने कार्की ओलीप्रतिको श्रद्धा र विश्वासका कारण धेरैको ध्यान तानिरहेका छन्।

कार्कीका अनुसार २०७२ सालको नाकाबन्दीका समयमा ओलीले देखाएको राष्ट्रियता र ठाडो अडानले उनलाई गहिरो रुपमा प्रभावित पारेको थियो। यही प्रेरणाले उनले ढाडमा ओलीको आकृति ट्याटु बनाएका हुन्।

राजनीतिमा पनि सक्रिय रहेका कार्की २०७४ को स्थानीय तह निर्वाचनमा लालबन्दी नगरपालिका–८ बाट नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए। एक कार्यकाल पूरा गरेपछि भने उनले पुनः उम्मेदवारी नदिने निर्णय गरे।


हाल सार्वजनिक रूपमा देखिएको उनको ट्याटुले कार्कीलाई फेरि एकपटक चर्चाको केन्द्रमा ल्याएको छ।


