राजन थापा काठमाडौँ, जेष्ठ २४ लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको अन्तर्राष्ट्रिय निर्देशक ईण्डोर्सी पदका लागि राजन लम्साल भारी मतान्तरसहित निर्वाचित भएका छन्। शनिबार काठमाडौँको प्रज्ञा भवन, कमलादीमा सम्पन्न निर्वाचनमा लम्सालले खगेन्द्र सिटौलालाई पराजित गर्दै विजयी हासिल गरेका हुन्।
निर्वाचनमा लम्सालले १,३८७ मत प्राप्त गर्दा सिटौलाले ५३१ मत ल्याए। कुल २,३७१ मतभारमध्ये २,०६० मत खसेको थियो। लम्सालले ७२.३८% मत प्राप्त गर्दै विजयी भएका हुन्।
नेपालका १५ वटै डिष्ट्रिक्टका प्रतिनिधिहरुले सहभागिता जनाएको उक्त निर्वाचनमा अन्तिम चरणसम्म ११ जना आकांक्षीमध्ये लम्साल र सिटौला मात्र प्रतिस्पर्धामा उत्रेका थिए। लम्सालले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ I बाट ३०७ मतभार थियो भने सिटौलाले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ D मा ९१ मतभार रहेको थियो।
राजन लम्साल अब सन् २०२६ मा हङकङमा हुने लायन्स अन्तर्राष्ट्रिय कन्भेन्सनमार्फत सन् २०२६–२०२९ का लागि लायन्स अन्तर्राष्ट्रिय बोर्ड सदस्य (अन्तर्राष्ट्रिय निर्देशक) मा निर्वाचित हुनेछन्।
लम्सालको लायनिज्म यात्रा सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीबाट सुरु भएको हो। उनले विगतमा डिष्ट्रिक्ट गभर्नर, मल्टिपल काउन्सिल चेयरपर्सन, जीएलटी र जीएमटी को–अर्डिनेटर, एलसीआईएफ एरिया लिडर लगायतका भूमिकामा सक्रिय नेतृत्व दिइसकेका छन्।
उनी गभर्नर हुँदा विकेन्द्रीकरण र पूर्व–पश्चिम विस्तारमा विशेष ध्यान दिएका थिए। डिष्ट्रिक्ट ३२५ B को भवन निर्माणसमेत उनको कार्यकालमै सम्पन्न भएको थियो। हाल तीन वर्षदेखि उनी एलसीआईएफ एरिया लिडरको रूपमा कार्यरत छन्।
नेपालबाट यसअघि सञ्जय खेतान अन्तर्राष्ट्रिय अध्यक्षको रेसमा छन् भने हाल बालकृष्ण बुर्लाकोटी अन्तर्राष्ट्रिय निर्देशक पदमा कार्यरत छन्।
यस वर्षको मल्टिपल काउन्सिल चेयरपर्सनमा मिलन थापा निर्वाचित भएका छन्।