हाम्रो मित्रतामा कहिल्यै पूर्णविराम लाग्ने छैन : प्रतिष्ठा ढकाल

 

प्रतिष्ठा ढकाल / काठमाडौं
२०७९/५/३ को दिन थियो सायद, म तिन दिन मामाघर बसेर आफ्नो घर फर्किएकी थिएँ । घरको गेटबाट भित्र प्रवेश गर्न साथ मेरो आँखा त्यो सानो गुडिया जस्तो देखिने कुकुरको छाउरोमा पुग्यो । सेतो भुत्लामा कालो रंगको टाटा, गहिरा काला आँखा, झट्ट हेर्दा मैले सानो छँदा खेलाउने मेरो सबभन्दा प्रीय गुडिया जस्तो देखिन्थ्यो उ हेर्दा हेर्दै उ म भए तर्फ आउन थाल्यो, सायद बच्चा छँदा कुकुरले झम्टेको भएर होला उ जति जति नजिक आउथ्यो म त्यति त्यति टाढा जान्थेँ। दिनहरू बित्दै गए, हामी बिचको मित्रता प्रगाढ बन्दै गयो। फोर्सको एस आई युनिट न्युटन भनेर पढ्दा मलाई त्यो न्युटन भन्ने शब्द बडो ‘cool’ लाग्थ्यो, त्यसै कारण मैले उसको नाम न्युटन राखिदिएँ । म कलेज जान बिहानै निस्कन पर्थ्यो, उ पनि मेरो पछि पछि लागेर मलाई माइक्रो बस सम्म छोड्न आउने गर्थो । उसलाई आफूसँग लगेन भने खुब भुक्थ्यो । ” ए दिदी , मलाई छोडेर कता गएकी ?” भन्थ्यो होला सायद ।

बिज्ञापन

कहिले काहीं त माइक्रोको सिटमै आएर बसिदिन्थ्यो । लाख बिन्ती भाउ गर्दा पनि उ मलाई छोडेर घर फर्किन मान्दैन थ्यो।
हाम्रो त्यो मित्रता देखेर माइक्रोमा सवार अन्य व्यक्तिहरु पनि चकित पर्थे । कतिपयले त मलाई “तिमी न्युटनको दिदी होइन ?” भनेर समेत चिन्न थाले । मलाई त्यसो सुन्दा खुब मजा लाग्थ्यो । साच्चै हामी बीचको सम्बन्ध सारै गहिरो थियो । म कलेजबाट आएको पनि उसले टाढै बाट देख्थ्यो र भुक्न थाल्थ्यो । म मेरो कलेजमा के के भयो उसलाई सब सुनाउँथिए , उ मेरो काखमा शिर राखेर नबुझे पनि बुझी रहे झैँ सुनिरह्न्थ्यो। मेरो यति गहिरो मित्रता त कुनै मानवसँग पनि भएको थिएन । यसरी नै समय बित्दै गए , त्यसपछि आयो २०८०/११/१३ को दिन , न्युटन करिब ३/४ दिन देखि बिरामी थियो , उसको औसधि उपचार पनि गरिरहेका थियौँ , तर ठिक हेने कुनै छाँट काँट थिएन । चिसो मन लिएर मन तातो पानी खाएँ अनि लाँगे कलेज तर्फ , माइक्रो सम्म छोडिदिने मेरो साथी आज मसँग थिएन , थिए त मनमा अनेकौं प्रश्नहरु । “आखिर मेरो न्युटु ठिक हुन्छ कि हुन्न होला?” “उसलाई केही भयो भने…….?” यस्ता अनेक प्रश्नहरुले मलाई घोच्न थाले , ती प्रश्नहरुको घोचाइ सहन नसकेर मेरा आँखाबाट अश्रुधारा बर्सन थाले।

कलेजबाट घर आउना साथ बाबाले मलाई न्युटनको निधनको कुरा सुनाउनु भयो । त्यो खबर सुन्ना साथ मेरो मुहारमा अलि अलि रहेको चमक पनि हरायो, हुन त आफ्नो जिवनको बहुमुल्य रत्न गुमाएको दिन, मुहारको चमक गुम्नु त स्वोभाविक नै हो । त्यस दिनबाट एक दिन छैन मैले उसलाई नसम्झेको । आज एक बर्ष बितिसक्दा पनि , घरको हरेक कुना देख्दा मलाई उसकै यादले सताउँछ । मलाई जुन कुकुर देख्दा पनि उसको मात्र झल्को आउँछ । तिम्रो जीवनमा पूर्णविराम लागे पनि हाम्रो मित्रतामा कहिल्यै पूर्णविराम लाग्ने छैन । प्यारो न्युटु तिमी जता भए पनि म तिमीलाई सदैव प्रेम गरिरहने छु।