

सन्जु श्रेष्ठ जोशी / काठमाडौं
जिन्दगी कहिलेकाहीँ यस्ता मोडहरूबाट गुज्रिन्छ, जहाँ एउटा गलत निर्णयले सिंगो परिवारको खुसी खोसिदिन्छ। आज समाजमा लागूपदार्थको दुव्र्यसन त्यस्तै एउटा भयावह समस्या बनेर फैलिरहेको छ। यसको असर केवल प्रयोग गर्ने व्यक्तिमा सीमित हुँदैन, यसले परिवारको विश्वास, सम्बन्ध र भविष्यलाई समेत गहिरो चोट पुर्याइरहेको हुन्छ।


धेरै युवाहरू साथीको लहैलहैमा, क्षणिक रमाइलो वा “एकपटक मात्रै” भन्ने सोचबाट कुलतको बाटोमा लाग्छन्। तर विस्तारै त्यही बानीले उनीहरूको सोच, व्यवहार र जीवन नै परिवर्तन गरिदिन्छ। परिवारको माया, आमाबुवाको सपना, श्रीमतीको भरोसा र बालबालिकाको भविष्यभन्दा नशा ठूलो बन्न थाल्छ। त्यसपछि सुरु हुन्छ एउटा परिवारको पीडा।


कतै आमा आफ्नो छोरा सुधारियोस् भनेर मन्दिर–मस्जिद धाइरहेकी हुन्छिन्, कतै श्रीमतीले श्रीमान् बचाइदिन अस्पताल र प्रहरी चौकीको ढोका ढकढक्याइरहेकी हुन्छिन्। तर सबैको कथा सुखद अन्त्यमा पुग्दैन। कतिपय महिलाको सिउँदोको सिन्दूर यही कुलतले पुछिदिएको छ भने कतिपय बालबालिकाले सानै उमेरमा बाबुको माया गुमाएका छन्।
आज पनि धेरै निर्दोष बालबालिका “मेरो बाबा किन फर्केर आउनुहुन्न ?” भन्ने प्रश्न बोकेर टोलाइरहेका भेटिन्छन्। त्यो प्रश्नको जवाफ धेरै आमासँग छैन। उनीहरू पीडा लुकाएर बाँच्न बाध्य छन्।
समाजमा बढ्दो बेरोजगारी, मानसिक तनाव, गलत संगत र लागूपदार्थको सहज पहुँचले समस्या झन् जटिल बन्दै गएको छ। यसको समाधान केवल पक्राउ वा सजाय मात्र होइन, समयमै सचेतना, परिवारको साथ, माया र पुनःस्थापनाको वातावरण पनि आवश्यक छ।
लागूपदार्थले एउटा व्यक्तिलाई मात्र होइन, एउटा परिवारको खुसी, एउटी आमाको सपना र बालबालिकाको भविष्य मारिरहेको छ। त्यसैले आजको आवश्यकता दोषी खोज्नु मात्र होइन, समयमै सचेत भई अर्को घर उजाडिनबाट जोगाउनु हो।

