


काठमाडौं, १८ जेठ । किसानका मुद्दा तथा दुग्ध क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई प्रभावकारी रूपमा समाचारमार्फत उजागर गरेको भन्दै अनलाइनखबरका काभ्रे संवाददाता तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका उपाध्यक्ष कपिल कोइराला सम्मानित हुनुभएको छ।


विश्व दूध दिवसको अवसरमा दुग्ध विकास बोर्डद्वारा आयोजित विशेष कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पत्रकार कोइरालालाई सम्मानपत्र प्रदान गर्नुभएको हो।


दुग्ध विकास बोर्डले किसानका समस्या, दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थसम्बन्धी विषयलाई निरन्तर समाचारमार्फत सार्वजनिक गरी यस क्षेत्रको विकासमा योगदान पुर्याएको मूल्यांकन गर्दै कोइरालालाई सम्मान गरेको जनाएको छ।
काभ्रेपलाञ्चोकलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएका कोइराला हाल हिमालय टेलिभिजन र अनलाइनखबरका लागि सक्रिय रूपमा रिपोर्टिङ गर्दै आउनुभएको छ।
उक्त कार्यक्रममा उत्कृष्ट किसान नमूना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल, विजय दुग्ध उत्पादक सहकारी संस्था (चितवन), मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था (इलाम), सूर्योदय मिल्क एण्ड इण्डस्ट्रीज प्रालिका सञ्चालक मनोजकुमार यादव, डेरी फुड एण्ड बेभरेज प्रालिका सञ्चालक शिव चरण त्यात तथा डेरी विज्ञ बाबूकाजी पन्तलाई समेत सम्मान गरिएको थियो।
विश्व दूध दिवसको अवसरमा आयोजित कार्यक्रमले दुग्ध क्षेत्रको विकास, किसानको योगदान र सञ्चार क्षेत्रको भूमिकालाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको थियो।

