उदयराम कायस्थ काभ्रे जिल्लाको जुनसुकै क्षेत्रमा पनि सुपरिचित नाम हो भन्दा फरक नपर्ला । समजसेवामा निकै सक्रिय कायस्थ जिल्ला बचत संघ काभ्रेको भर्खरै सम्पन्न विशेष साधारणसभा बाट अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएको छ । लामो समय सहकारी अभियानमा लाग्नु भएको उहाँ लायन्स क्लव अफ बनेपा सिटीको सचिव , क्षितिज बोर्डिङ स्कुल बनेपाको व्यवस्थापन समिति अध्यक्ष, गोदामचोक एकिकृत टोल सुधार समिति बनेपा–७ को अध्यक्ष, आई.जि.आई. परुडेन्सियल इन्स्योरेन्सको बनेपा शाखा प्रमूख लगायत विभिन्न संघ संस्थाहरुमा लामो समय प्रमुख भएर काम गरेको अनुभव रहेको छ ।

हुनत पछिल्लो समयमा केही सहकारीहरुको कारणले सहकारी क्षेत्र नै धरासायी हुने हो कि भन्ने चिन्ता थपिरहेको छ । यस विषयमा राज्य तथा नियमक निकायले बेलैमा चासो र समस्याको समाधान ननिकाल्ने हो भने समग्र सहकारी क्षेत्र नै संकटमा पर्ने देखिन्छ । काभ्रेमा पनि धेरै सहकारीहरु यति बेला संकटमा परेका छन् । कति पय सहकारी बन्द अवस्थामा छन् भने कति सहकारीका संचालक र प्रबन्धक फरार छन् । जिल्ला प्रशासन र प्रहरी प्रशासन काभ्रेमा हेर्न हो भने उजुरीको चाङ छ । बचत कर्ताको गुनासो जिल्लामा कतै सम्बोधन नभएको भन्दै प्रदेश र केन्द्र धाउन थालिसकेका छन् । उता बचत कर्ताहरु मिडिया बाट पनि केही हुन्छ कि भनेर मिडियाकोमा पनि जान थालिसकेका छन् ।

काभ्रे जिल्लाको केन्द्रबिन्दुको रुपामा चिनिने बनेपा नगरपालिकामा हेर्न हो भने सबै भन्दा बढि समस्य यहीँ रहेको पाइन्छ । सहकारी लाई नियमन गर्ने निकायहरुले पनि यो अवस्थामा खासै केही गरेको देखिदैन । जिल्ला बचत संघ पनि सहकारी लाई नियमन गर्ने निकाय मध्यको एक हो । काभ्रे जिल्ला बचत संघ यो अवस्थामा के गर्दै छ ? भर्खरै निर्वाचित अध्यक्षको योजना के छ ? के अब काभ्रेका सहकारीहरु लाई आर्थिक संकट नै पर्ने थालेको हो त ? यी सबै समस्याहरुको समाधानका लागी के–के काम गर्दै छ जिल्ला बचत संघ ? लगायत बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले जिल्ला बचत संघ काभ्रेको अध्यक्ष उदयराम कायस्थसँग गरेको समसामयिक कुराकानी ः

 

 


० सहकारीमा तपाईको प्रवेश र अनुभव कस्तो बारे भन्नु पर्दा ?
सर्वप्रथम म २०५३ सालबाट बनेपा स्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.को दर्ता गर्दाको बखत संस्थापक सदस्य तथा तदर्थ समितिकको सचिवको भुमिकामा रहेको थिए । सहकारी अभियानमा निरन्तरता संगै २०६७ साल देखि २०७८ साल सम्म जिल्ला बचत तथा ऋण सहकारी संघको सचिव पदको जिम्मेवारीमा रहेर काम गरे । हाल २०८० बैशाख १६ गते सम्पन्न जिल्ला बचत संघको विशेष साधारण सभाबाट सो संघको अध्यक्ष पदमा निर्वाचित भएको छु । विशेष गरि जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको विकाश र उन्नतीको निमित्त काम गर्ने अवसर प्राप्तभयो । सहकारीलाई कसरी निम्न अय भएका व्यक्तिहरुको वित्तिय भरोसाको रुपमा प्रस्तुत गर्ने भन्ने मै मेरो विशेष ध्यान रह्यो ।

० लामो समय सम्म सहकारीमा लाग्नु भयो, यस अभियानमा लागेर के पाउनुभयो ?
व्यक्तिगत रुपमा केहि पाउने अभिलासा राखेर सहकारी अभियानमा म लागेको होईन तर यस अभियानमा लागेर समाजमा नाम पाएँ, सम्मान पाएँ, सन्तुष्टि पाएँ केही गर्ने अवसर पाएँ । साथै सहकारी अभियानको मुख्य उद्देश्य भने कै अभियान्ताहरुको दुख सुखमा सहकार्य गरी सहयोग गर्ने , सहकारीको मध्यमबाट गरिवि जिवन यापनमा टेवा पु¥याउने, विशेष गरि सहकारी संस्थाका सदस्यहरुको सन्तुष्टि नै मेरो सन्तुष्टि हो भन्दै निस्वार्थ रुपमा सहकार्य गर्ने मौका पाएँ ।

० जिल्ला बचत संघमा पहिला हार्ने अवस्था थिएन कसरी हार्नु भयो ? र अहिले कसरी सर्व सम्मत हुनुभयो ?
विगतमा कसरि परिजित भए त्यस तर्फ म जान चाहान्न, त्यसमा विश्वासमा खडेरी लाग्यो, कुठाराघात भयो तसर्थ हार व्यहोर्नुप¥यो यस पटक सम्पूर्ण सदस्य संस्थाका प्रतिनिधिहरुको माया विश्वास तथा सम्पूर्णले संघमा मेरो आवश्यकता महसुुस गर्नुभयो अन्य कसैले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता नगराएको कारणबाट पनि म सर्वसम्मत निर्वाचित भएँ ।
० जिल्ला बचत संघको बारेमा सक्षिप्त जानकारी गराउनुहोस् ? हिजो र आजको बचत संघको अवस्थामा के फरक छ ?
जिल्ला बचत संघ काभे्र तत्कालिन डिभिजन सहकारी कार्यालय धुलिखेलमा २०५३ मा दर्ता भई काभे्र जिल्लाको बचत तथा ऋण सहकारी संस्थाको छाता संघको रुपमा स्थापित भई सहकारी संस्थाहरुको विकाश गर्न जिल्ला संघ सक्षम हुनुपर्छ भन्ने उद्देश्यले “साकोसहरुको संस्थागत विकाशका लागि सक्षम जिल्ला संघ” भन्ने परिकल्पनाका साथ संघ अगाडि बढेको थियो र २०६१ सालमा नेफ्स्कून द्धारा नमूना जिल्ला संघ घोषित, २०६४ सालमा राष्ट्रिय सहकारी महासंघद्धारा उत्कृष्ठ सहकारी पुरस्कार, २०६४ मा डिभिजन सहकारी कार्यालय काभे्रबाट उत्कृष्ठ जिल्ला संघ पुरस्कार र २०६७ मा नेफ्स्कून द्धारा उत्कृष्ठ जिल्ला संघको उपाधि पाई सकेको कुरा यहाँहरु माझ विदितै छ । हाल यस संघको संचालकहरु बिच प्रभावकारी टिम वर्कमा केहि फितलो भएको महसुस मैले गरको छु र यसलाई मिलाएर जाने पतिवद्धता पनि व्यक्त गर्दछु । हाल संघले आवद्ध संस्थाहरुलाई सक्षम र सवल बनाउन आवश्यकतानुसार निशुल्क÷सशुल्क तालिम गोष्ठी, सेमिनार कार्यक्रमहरु तर्जुमा गरी नीति विधि कार्यविधिमा संचालन गर्न प्रेरित र प्रेरणा पनि दिदै, तरलता कम भएका संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न सौहुलियत पुर्ण ऋण सुविधा उपलब्ध गराउने, सहकारीको लागि आवश्यक मसलन्द विक्रि वितरण गर्ने आदि कार्य गर्दै आईरहको छ ।

० हालदेखा परेको आर्थिक मन्दीले संघलाई कस्तो असर पु¥याएको छ ? आवद्ध संस्थाहरुको अवस्था कस्तो छ ?
आर्थिक मन्दी विश्वव्यापी रुपमा नै देखा परेकोले बचत संघमा आर्थिक मन्दीको असर नदेखिने भन्ने त कुरा नै भएन । वास्तविक रुपमा सदस्यहरुमा आधारित नभई सानो समूहले संचालन गरेको सहकारी संस्थाहरुमा समस्या देखापरेको सदस्यमा केन्दीत समुदायमा आधारीत सहकारी संस्थाहरुमा यस आर्थिक मन्दीको असर तुलनात्मक रुपमा कम देखिएको छ । त्यसैगरि यस जिल्ला बचत संघ पनि सदस्य संस्थाहरुमा केन्द्रीत रहेर आर्थिक क्रियाकलाप संचालन गर्ने भएकोले मन्दीको असर कम देखिएको छ ।

० सहकारीहरु धम्माधम बन्द हुने अवस्थामा छन यसको मुल कारण के हो ? यसको समाधानका लागि जिल्ला बचत संघको के योजनो रहेको छ ?
सहकारी संस्थाहरु बन्द भएका छैन्न र हुदैन पनी बस्तवमा अहिले सहकारीमा केहि संस्थाहरुले सदस्यको विश्वास जित्न नसकेका कारण सदस्यहरुको बचत फिर्ताको माग बढेको छ । भने जति बचत फिर्ता गर्न नसकेको अवस्थाले सहकारीका विषयमा गलत हल्ला फैलिएको हो । जिल्ला बचत संघ काभे्र सर्वप्रथम सदस्य संस्थाहरुलाई आफ्ना सदस्यहरुलाई विश्वासमा लिन अनुरोध गर्दछ । यसका साथै जिल्ला बचत संघले समस्यामा परेका सदस्य संस्थाहरुको समस्या समाधानका निमित्त सहकारी संस्थाको अनुगमन गरि समस्या आउनुको कारण पहिल्याई आवश्यकता बमोजिम मर्जर गर्न प्रोत्साहन गर्ने, ऋण सुविधाका लागि आवश्यक कोषको तयार गर्ने, संस्था संचालनको अवस्थाहेरी आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा सिफारिस समेत गर्ने योजना बचत संघ काभ्रेले तयार पारेको छ ।

० छाता संगठनहरु, स्थानीय र प्रदेशले पनि केहि गरेन भन्ने गुनासो छ नि ? यसमा तपाईको भनाई ?
हाल सहकारी संस्थाहरुमा देखा परेको मुख्य समस्या भनेको वित्तिय समस्या हो । अर्थात तरलता कमभएको अवस्था हो । यस अवस्थामा हाम्रो संघमा आवद्ध भएका नीति विधिमा संचालन भएका सहकारी संस्थाहरुको सन्दर्भमा हामिले सकेको अर्थिक सहयोग गरिरहेका छौ । संस्थाको समस्या समाधानका लागि हाम्रो संघका कर्मचारी तथा संचालक संस्थामा उपस्थित भई समाधानका लागि प्रयास जारी रहेको छ । प्रदेश तथा स्थानियतह हरुले पनि समस्या समाधानको निमित्त क्षमताले भ्याए सम्म योगदान गरिरहेको मैले जानकारी पाएको छु ।

 

० हाल सम्म कति वटा सहकारी बन्द भएका छन ? कति फरार भएका छन ? र कति वटा समस्यामा छन ?
मेरो जानकारीमा भए अनुसार केही सहकारी चरम तरलता अभावका कारण सदस्यहरुको अनुचित गतिविधिका कारण कार्यालय खोल्न नसक्ने अवस्थामा पुगेका छन भने केहिले सदस्यहरुको रकम व्यक्तिगत प्रयोग गरि फरार रहेको सूचना मैले पाएको छु । हाल सम्म त्यो संख्या ज्यादै न्युन रहेको छ । तर अगामी दिनमा यस्ता धटना हुन नदिन सहकारी संस्थाका संचालक, कर्मचारी र बचत कर्ता सदस्यहरुमा अनुरोध गर्दछु ।

० जिल्ला बचत संघमा कतिवटा सदस्य संस्थाहरु आवद्ध छन र आवद्ध भएका मध्ये कति वटा समस्यमा परेका छन ?
जिल्ला बचत संघ काभे्रमा आजको मिति सम्म कुल २४१ सदस्य संस्थाहरु आवद्ध रहेका छन् । जस मध्ये मेरो जानकारीमा केही संस्थाहरुमा तरलताको समस्या देखा परेकोमा केहि संस्थाहरुमा सो समस्या समाधान समेत भएका छन ।

० हाल सहकारीमा देखा परेको समस्यको समाधान एकिकरण पनि एउटा माध्याम हो यसका लागि संघले के गर्दे छ ?
संघले समस्यामा परेका संस्थाहरुलाई अनुगमन गरि अनुगमन गरिएका सहकारी संस्थाको समस्याको कारण विश्लेषण गरि समुदायमा आधारीत सहकारी संस्थाहरु संग मर्ज गराउने प्रकृयामा यस संघले आवश्यकता बमोजिमको सहयोग गर्ने लक्ष्य जिल्ला बचत संघले राखेको छ ।

० संघबाट आएको भत्ता शेवा सुविधा समाज सेवामा खर्च गर्छु भनेर भन्नु भएको सुनियो खास कुरो के हो ?
तपाईले सुन्नु भएको कुरा सत्य हो संघबाट मेरो नाममा प्राप्त हुने भत्ता तथा संचार खर्च सम्पूर्ण मानव कल्याणमा खर्च गर्ने कुरा मिति २०८० बैशाख १६ गते सम्पन्न संघको विशेष साधारण सभामा समेत मैले उद्घोष गरेको थिए ।

० पछिल्लो समय समाज सेवामा पनि सक्रिय हुनुहुन्छ ? अवको तपाईको लक्ष्य के हो ?
समाज सेवा मेरो बाल्यकाल देखिको सपना हो । मैले भ्याए सम्म सामाजिक क्रियाकालप र मानव कल्याणमा अफुलाई समर्पित गर्ने लक्ष्य लिएकोे छु ।

० अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु जो जिल्ला बचत संघ तथा माथिल्ला संघहरुमा अवाद्ध भएका छैन्न उनिहरुलाई संघहरुमा आवद्ध भई सहकार्य गर्न अनुरोध गर्दछु । संचालित सहकारी संस्थाहरुले संचालक तथा कर्मचारी र सदस्यहरु विचमा नेटवर्क, टिमवर्क र हार्डवर्क गरेर सहकार्य गर्नुहुन अनुरोध गर्दछु । नव क्षितिज सप्ताहिक परिवार प्रति आभार व्यक्त गर्दे यहाँहरुको अमूल्य सल्लाह, सुझाव, सहयोग र सद्भावको लागि हार्दिक अनुरोध गर्न चाहान्छु ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..