

काठमाडौं । हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ।


इजरायली रक्षा बल (आईडीएफ) का एक अधिकारीले आज स्थानीय समय अनुसार बिहान साढे ७ बजे विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएका हुन्।


उक्त जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत् दिइएको राजदूत पण्डितले बताएका छन्।

राजदूत पण्डितले भने, “आईडीएफका अधिकारीले हामीलाई ‘विपिन इज नो मोर’ भन्दै औपचारिक जानकारी दिए।”
अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरूलाई रिहा गर्ने तयारी भइरहेको छ। तर, रिहा गर्न तय गरिएको २० जनाको सूचीमा विपिनको नाम नपरेको बताइएको छ।
विपिनको अवस्थाबारे जानकारी खोज्न उनका आमा र बहिनी केही समयअघि सरकारी सहयोगमा इजरायल पुगेका थिए। उनीहरू अहिले अमेरिकामा रहेका छन्।