काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी मुल ढोकाबाट प्रधानमन्त्री बनाउने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल बेथानचोक गाउँ कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले वर्तमान सरकार जालझेल र षड्यन्त्र मार्फत आएकाले समृद्धिको सपना पुरा गर्न ओली नै आउनुपर्ने बताएका हुन् ।

ओली सरकारले गरेका विकास निर्माणका कामबाट आत्तिएकाहरु मोर्चा नै बनाएर विरोधमा लागेकाले यसको जवाफ आगामी निर्वाचनमा दिने उनको चेतावनी छ । अध्यक्ष पौडेलले संगठन निर्माण तथा प्रशिक्षणमा लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् । यस्तै प्राकृतिक विपत्ति कम गर्न युवा संघ नेपाललले देशभरी नै वृक्षारोपण कार्यक्रम गरेको उनले बताए । १ महिनाको अवधिमा देशभर ५ लाख विरुवा रोपिएको उनले जानकारी दिएका छन् । 

यस्तै युवा संघ नेपालका उपाध्यक्ष अमित लामाले संघिय लोकतान्त्रिक गणतन्त्र नै खतरामा रहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकार आएसँगै भ्रष्टारको आरोप लागेका विजय कुमार गच्छदार छुट्नु, इट्टा भट्टामा दिउँदै मान्छे मारेको आरोप लागेका मोहम्मद अफ्ताब आलमलाई छुटाउने प्रयास हुनु, भारतीय एसएसबिले तुइन काटिदिएर नेपालीको मृत्यु हुँदा पनि सरकार मौन रहनुले लडेर प्राप्त गरेको उपलब्धि खतरामा परेको उनको भनाई छ ।

सरकारले एकपछि अर्को गलत काम गर्न थालेकाले युवा संघ नचाहँदा नचाहँदै सडकमा आउनु परेको उपाध्यक्ष लामाले बताए । यस्तै राष्टिय परिषद सदस्य कुमार थापाले पार्टीको नीति विचारलाई तल्लो तहसम्म पुर्याउन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा जिल्ला संयोजक विक्रम चौलागाँईले असोज १५ गते सम्ममा स्थानीय तथा जिल्ला अधिवेशन गरिसक्ने बताएका छन् । अब संगठन निर्माणलाई तिव्रता दिँदै राम्रा काममा सहयोग तथा गलत कामको विरोध गर्ने उनले बताए । नेकपा एमाले बेथानचोक गाउँ कमिटी अध्यक्ष बेदप्रसाद तिमल्सिनाले गाउँपालिकामा ३ सय सदस्य थपिएको जानकारी दिए ।   

युवाहरुको साथ र कांग्रेसले गरेका गलत कर्मका कारण आगामी निर्वाचनमा गाउँपालिकामा आफुहरुको जित सुनिश्चित रहेको उनको दाबी छ । कार्यक्रममा गाउँपालिका इन्चार्ज सुदर्शन थापा, युवा संघका केन्द्रिय नेताहरु राकेश लामा, निवास श्रेष्ठ, सागर रायमाझी, सौगात बस्नेत तथा जिल्ला नेताहरु मधु लामा, सुरेश भुजेल, गाउँ कमिटी अध्यक्ष देव चन्द्र लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिकामा ६ सय विरुवा रोपिएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..