मध्यपुर थिमी, भक्तपुर – विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले ३४ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
फागुन २१ गते मध्यपुर थिमिमा अवस्थित विद्यालयले क्वेस्ट नेपालकी प्रेसिडेन्ट श्रीमती सुरिना गुरुङको प्रमुख आतिथ्यतामा ३४ औं वार्षिकोत्सवको अवसरमा विविध प्रतिभा प्रदर्शन तथा दोस्रो एसक्युसी स्कुल कन्भेन्सनको आयोजना सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले विद्यालयले विद्यार्थीको लागि अत्यावश्यक प्रतिभा प्रदर्शन कार्यक्रम गरेकोमा विद्यालयको खुलेर प्रशंसा गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा उनीहरुभित्र रहेको प्रतिभा प्रदर्शन गर्ने अवसर विद्यालयले हरेक विद्यार्थीलाई दिँदै आएको बताए । प्रिन्सिपल प्रजापतिले विद्यार्थीलाई भविष्यमा सक्षम, स्वाबलम्बी, दक्ष र आत्म निर्भर नागरिक तयार गर्ने तथा एक विद्यार्थी एक सीपको अवधारणामा विद्यालय चलेको कुरा समेत बताए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अन्य वक्ताहरुले आजको एक्काइसौं शताब्दीमा युग सुहाउँदो शिक्षा प्रदान गर्न सफल भएकोमा विद्यालयलाई अझ उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।
विशेष गरेर विद्यालयमा धेरै वर्षअघिदेखि कोर्सका रुपमा सिकाउँदै आइएको स्टुडेन्ट क्वालिटी सर्कल (एस्क्युसी) को दोस्रो विद्यालय सम्मेलन गराइएको र सोका माध्यमबाट विद्यार्थीहरुले समस्या पहिचान गरी विभिन्न विधि र पद्धतिका माध्यमबाट त्यसको समाधान गर्ने तरिका केस स्टडी प्रेजेन्टेशनका माध्यमबाट सिक्न सकेको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक गणेशराम लाछीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले एकल, सामुहिक नृत्य, धिमे, बाँसुरी वादन लगायत आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्यानल डिस्कसन, ट्यालेन्ट शो, कराँतेको प्रदर्शन, केश स्टडी प्रेजेन्टेशनको माध्यमबाट विद्यार्थीले आफ्नो दृष्टिकोण राखिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले गीत संगीत प्रस्तुत गरी कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पारेका थिए ।
ट्यालेन्ट सो अन्तर्गत कक्षा ५, ६ र ७ का विद्यार्थीहरुले एकल नृत्यमा प्रतिष्पर्धा गरेका थिए । विद्यार्थीहरुले विविध जात जातिका भेषभुषा, संस्कृति झल्कने आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशक अमरकृष्ण चन्दले निर्णायकको भूमिका निभाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ, प्रिन्सिपल प्रजापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाछीले प्रतियोगिताका विजयी, सहभागी विद्यार्थी एवम् विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
वार्षिकोत्सवको अवसर पारी अघिल्लो दिन बागमती प्रदेश सभाका सांसद भावना श्रेष्ठको प्रमुख आतिथ्यतामा कक्षा १, २, ३ र ४ का विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले परम्परागत भेषभुषा तथा प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सभा सांसद भावना श्रेष्ठलाई सम्मान गरिएको थियो ।
विनायकको ३४ औं वार्षिकोत्सव सम्पन्न
