काभ्रेपलाञ्चोक – इलाम जिल्लाको जितपुर गाविस वडा नं. १ मा जन्मनु भएको पुन्यमाता घिमिरे हाल बनेपा नगरपालिका वडा नं. ३ मा बसोबास गर्नु हुन्छ । सानो उमेर देखी नै एथलेटिक्स खेलमा रुचि राखेर राष्ट्रिय स्तरमा आफ्नो नाम सुपरिचित बनाउन सफल घिमिरे एथलेटिक्स खेलको राष्ट्रिय प्रशिक्षकको रुपमा पनि धेरै वर्ष काम गर्नुभएको छ । २०४८ साल देखी २०५२ साल सम्म उहाँले खेलाडीको रुपमा राष्ट्रिय स्तरको खेल खेल्नु भयो । पछि २०५२ देखी २०६० साल सम्म राष्ट्रिय प्रशिक्षक भएर खेले क्षेत्रमा ठुलो योगदान दिनु भएको छ । २०६२ देखी २०६९ सम्म शिक्षक भएर शिक्षा क्षेत्रमा काम गर्नु भयो । जन्म देखी २०७९ साल सम्म कुनै पनि राजनितिक पार्टीको संगठनमा नबसि अहोरात्र समाजको बिकास र हितको लागी काम गरेको बताउनु भयो ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको जिल्ला पार्टी उपाध्यक्ष भएर काम गरिरहनु भएको छ । भर्खरै सकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केन्द्रित रहेर जनताको घर दैलोमा गएर धन्यवाद ज्ञापन गरिरहेको देख्न सकिन्छ । घिमिरेले बेथानचोक गाउँपालिकामा भएको ठुलो दुर्घटनामा अग्रपंक्तिमा रहेर घाइतेहरुको उद्घार गर्नुको साथै बसका समितिहरु लाई ध्यानाकर्षण गराउने काम गर्नु भएको थियो । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्ला उपाध्यक्ष पुन्यमाता घिमिरेसँग गरेको समसामयिक कुराकानी

 

 

० चुनाव पनि सकियो आज भोलि चाहिँ केमा व्यस्त हुनुहुन्छ ? चुनाव सकियो चुनावको झल्को भने झल्किरहेको छ । हामी हाम्रो पार्टीका नेताहरु बिच बसेर चुनावी समिक्षा गरिरहेका छौँ साथै साथीभाई भेटघाट र जनतालाई धन्यवाद दिने काम बल्ल सकिँदैछ ।

० काभ्रे क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले खासै राम्रो मत त ल्याउन सकेननी ? तपाईंहरु लाई जनताले किन भोट कम हालेका होलान् ?
काभ्रे क्षेत्र नं. २ बाट जवाना जफत जोगाउन धेरै गाहे हुने ठाउँबाट प्रतिस्पर्धा गरिरहँदा आएको परिणामलाई त्यति नराम्रो भन्न मिल्दैन तर कुरा के चाहिं सत्य हो भने भोट कम भने आएको हो । हामीले यस क्षेत्रलाई दिएको योगदानलाई पनि पुनर्मूल्याङ्कन जनताले गर्दछन् । हाम्रो सहभागिताको कुरा पनि आउँछ । त्यसमा हाम्रो पार्टी नयाँ समय कम भएको कारण र हाम्रो एजेण्डाहरु सबै सामु पुर्याउन नसक्नु पनि कम आउनुको कारण हुनसक्छ ।

० काभ्रेका सबै पालिकामा पार्टीको संगठन छैन नि ? कति पय ठाउँमा त तपाईंहरु भोट माग्न नै जानू भएन रे ?
हो हाम्रो धेरै पालिकामा संगठन विस्तार गर्न नसक्नुको प्रमुख कारण भौगोलिक विकटता नै हो । समय साह्रै छोटो र खानीखोला गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकामा गाडी जान सक्ने वातावरण नभएको कारण त्यहाँ संगठन विस्तार गर्न सकिएन र भोट माग्ने सवालमा पनि हामीले बढी मिडियालाई फोकस गर्थाै घरदैलो सबै ठाउँमा हुन सकेन ।

 

० जिल्लाको पार्टी उपाध्यक्ष पनि हुनुहुन्छ ? भर्खरै सकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा लाई कसरी लिनु भएको छ ?
निर्वाचनको परिणामले के चाही अनुभव भयो भने यो निर्वाचन गराउने प्रणाली नै महँगो अनि यसमा पनि पैसाको चलखेल त्यसैगरी बिना सङ्गठन निर्वाचन जित्न धेरै मुस्किल रहेछ । निर्वाचन आयोग मात्र कडा हुने हो भने पैसाको चलखेल देखेमा उम्मेदवारी खारेज गर्न सप्रमाण जुटाएर त्यसो गर्ने भए चुनाव जित्न र हार्नुमा सहजता हुनेथियो भन्ने अनुभव भयो । एउटा पार्टी हार्ने अर्को पार्टी जित्ने त स्वाभाविक प्रक्रिया हो । यसमा धेरै कुरा गर्नुपर्ने जस्तो लाग्दैन । जितेर पनि आफ्नो जिम्मेवारी पुर्ण रुपमा निर्वाह गर्नु चाहिँ प्रमुख दायित्व हुन्छ ।

 

० तपाईं राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो ? समानुपातिकमा त पर्नु भएन नि ?
उम्मेदवार हुने जति सबैको जित हुँदैन यसमा पनि विधि र पद्धति हुन्छ । त्यस भित्र पर्न सक्नु पर्छ । त्यो पद्धतिमा आफू पछि परेपछि स्वीकार गर्न सक्नुपर्छ । आफू परे या परिन भन्नु भन्दा पनि त्यो विधिमा मेरो स्थान कहाँ थियो भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ ।

 

० अब आउने स्थानीय निर्वाचनमा बनेपाको नगर प्रमुखको उम्मेदवार बन्न अहिले देखि नै अभ्यास थाल्नु भएको हो ?
अहिले नै त्यस्तो नभनि हालौ । पार्टीको माग, आम काभ्रेली जनताको माग र मेरो चाहाना, क्षमता र दक्षता अनुसार परिस्थिति अनुरुप पार्टीको चाहाना बमोजिम जुन सुकै स्थानमा पनि आउन सक्ने सामथ्र्य राख्छु । त्यति मात्रै नभई बनेपा नगरमा मात्र नलागेर हामी काभ्रे जिल्लाको १३ वटै पालिकामा सक्रिय रुपमा लागि नै रहेका छौं । यी पालिकामा हाम्रो उम्मेदवार खडा गर्नुपर्छ र अहम् भूमिका निर्वाह गर्नुपर्छ भन्ने हाम्रो जिल्ला पार्टीले सोचेको छ र त्यही अनुसार निर्देैशन पनि गरिएको छ ।

 

० काभ्रेमा राष्ट्रिय स्वतन्त्र पार्टी कसरी अगाडि बढछ ?
काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ । जँहा जरा गाडेका भातृ संगठन नखोली जनताको मन मस्तिकमा बस्ने काम गरेर अगाडि बढ्ने छ । हामी जुन सुकै परिस्थितिमा जनताको पक्षमा हुने छौ । काभ्रेली जनताको माग चाहाना अनुरुप हामी अहोरात्र खटिने छौँ ।

 

० काभ्रेली जनताको मन जित्न के–के काम गर्ने योजना रहेको छ ?
यो काम गर्ने भन्ने छैन जहाँ अनियमितता भष्टाचार आदि र जनता सँग प्रत्यक्ष सरोकार राख्ने विषयमा खेलाची र लापरबाही गरेमा त्यसको पूर्णरुपमा बफरदारी गर्ने र सम्बन्धित निकायलाई जिम्मा लगाउने काम गर्छौं ।

 

० तपाईंको पार्टीको काभ्रेमा खासै कहिँ कतै केही भुमिका देखिदैन नि ? त्यतिकै जनताको मन र मत पाउन सकिन्छ ?
अति राम्रो प्रश्न खुशी लाग्यो तर हामीले राम्रो काम गरेको खबर चाहिँ कुन मिडियाले कबर गर्छ भन्ने अन्योल छ । पत्रकार सबै पार्टीका छन् । हाम्रो पार्टीका पत्रकार छैनन् । राम्रो कामको मुक्तकष्ठले प्रशंशा कसले गर्ला खै । अस्ति बेथानको बस दुर्घटनामा उद्धार गर्ने सबैभन्दा पहिले प्राणनाथ घिमिरे र अष्टमान तामाड.राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरु हुनुहुन्थ्यो उहाँहरुको नाम कहि कतै आएन भने बनेपा नगर सभापति सुरज मकै श्रेष्ठ सबैभन्दा पहिलो शिर मेमोरियल हस्पिटलमा पुग्नु भयो खै त त्यसको खबर छापेको त्यसमा पत्रकार साथीहरुको ध्यान जानु पर्ने पो हो की ।

 

० धेरै मानिसहरु हामीले राष्ट्रिय स्वतन्त्र पार्टी लाई भोट दिएको होइन रबि लामिछाने लाई दिएको हो भन्छन् नि यसमा तपाईंको भनाइ ?
हो अहिले रबि लामिछानेको हिजो गरेको सत्कर्मका कारण उहाँलाई हेरेर नै भोट दिएको हो । जनताले हामीलाई भोट दिन त हामीले जनताका काम गरेर मन जितिसकेपछि अनि हामीलाई हाल्ने हो । हामी काम गदै छौ । जनताले हाम्रो कामको छिटै मुल्याकन गर्नुहुने छ । मलाई विश्वास छ हामी काभ्रेली जनताको मन जित्ने छौँ ।

 

० अन्तमा ?
अत्यमा के भन्न चाहन्छु भने जो जहाँ जुन अवस्थामा हुनुहुन्छ सबैले आ–आफ्नो विवेक प्रयोग गरौं र हाम्रो पार्टीको काम हेर्न बाँकी नै छ पर्खनुहोस् र कसैको दबाबमा नबसी राम्रा कामको प्रशंसा र नराम्रो कामको खुलेर बिरोध गर्नुस भन्न चाहन्छु । धन्यवाद

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..