काभ्रेपलान्चोक  – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक बर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । स्थानीय तह को गाउँपालिकातर्फ रोशी गाउँपालिका जिल्लामा पहिलो स्थानमा पर्न सफल भएको छ । स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको रोशी गाउँपालिकाले ६८.३६ अंक प्राप्त गरेको छ । वित्त आयोगले विभिन्न १७ वटा सूचकको वित्तीय क्षेत्रर्फका सुचकको आधारमा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गर्ने गर्दछ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका नगरपालिकाहरुमध्ये बाट नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । नमोबुद्ध नगरपालिका जिल्लाका ६ वटा नगरपालिकामध्ये पहिलो स्थानमा परेको हो । समग्र नगरपालिकातर्फ पहिलो स्थानमा पर्न सफल भएको नमोबुद्ध नगरपालिकाले ६६.३९ अंक प्राप्त गरेको छ । स्थानीय तहमा दोस्रो स्थानमा रहेको महाभारत गाउँपालिकाले ६६.६८ अंक प्राप्त गरेको छ । नमोबुद्ध नगरपालिका जिल्लाका १३ स्थानीय तहमध्ये समग्रमा तेस्रो तथा मुलुकका ७५३ स्थानीय तहमध्ये १३ औं स्थानमा परेको छ ।

वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट स्थानमा पर्नु खुशी र गौरवको कुरा भएको नमोबुद्ध नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले बताए । ‘हामीले तोकिएकै समयमा नगरसभा सञ्चालन, नीति कार्यक्रम तथा बजेट विनियोजन, राजस्व परिचालनका काम गरिरहेका छौं’ तिमल्सिनाले भने, विनियोजित बजेट पनि समयमै कार्यान्वयनमा लगेका छौं ।’आफूहरु निर्वाचित भएदेखि नै नगरपालिकामा सुशासन कायम गर्न लागिपरेको र त्यसैको परिणाम अहिले देखिएको उनले बताएका छन् ।
आयोगले तोकिएको समयमा बजेट ल्याए÷नल्याएको, बार्षिक समीक्षा गरे या नगरेको, स्थानीय तहको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा भए÷नभएको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्नादरको अवस्था, बालबालिकालाई लगाइएको पूर्ण खोपको अवस्था लगायतका १७ वटा सूचकमार्फत स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गरेको थियो ।

काभ्रेका अन्य स्थानीय तहमा नगरपालिकातर्फ दोस्रो स्थान र समग्रमा चौंथोमा परेको धुलिखेल नगरपालिकाले ६३.२९, पाँचौं स्थानमा परेको पाँचखाल नगरपालिकाले ६३.१९ अक प्राप्त गरेका छन् । जिल्लामा सबैभन्दा कम अंक प्राप्त गर्नेमा चौरीदेउराली गाउँपालिका रहेको छ । चौरीदेउराली गाउँपालिकाले जम्मा ३७.९० अंकमात्रै प्राप्त गरेको छ ।

जिल्लाका अन्य स्थानीय तहमा नगरपालिकातर्फ बनेपाले ५६.२२, पनौतीले ५५.९२ र मण्डनदेउपुरले ५३ अंक प्राप्त गरेका छन् । यस्तै गाउँपालिकातर्फ बेथानचोकले ५९.२५, खानीखोलाले ५४.९५, तेमालले ५०.५८ र भुम्लु गाउँपालिकाले ५०.२० अंक प्राप्त गरेका छन् ।– रेडियो रोशी बाट साभार

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly