काभ्रे : उर्मती एशोसियसन फ्रान्सले काभ्रेका ४ सय ५० विद्यार्थीलाई न्यानो स्विट्टर वितरण गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नं १ मा रहेका जनचेतना उच्च मा.वि र वडा नं २ मा रहेको सर्वद्धार मा.वि का गरी ४ सय ५० विद्यार्थीलाई जाडोका लागी स्कुल ड्रेसको न्यानो स्विट्टर वितरण गरेको हो ।

उर्मती एशोसियसन फ्रान्सका अध्यक्ष एंव समाजसेवी पासाङ डोल्मु लामाले उक्त विद्यालयहरुसंगको समन्वयमा एक कार्यक्रमकाबिच स्विट्टर वितरण गरेकी हुन् । जनचेतना उच्च मा.वि का शिशु कक्षा देखी कक्षा १२ सम्मका २ सय ७४ जना र सर्वद्धार मा.वि का १ सय ७६ विद्यार्थीहरुलाई स्विट्टर वितरण गरिएको हो ।

एशोसियसनकी अध्यक्ष लामाले आफूले अध्ययन गरेको विद्यालयमा पुगेर विद्यार्थीहरुलाई देशप्रतिको जिम्मेवारीबोध गराउन स्विट्टर वितरण गरेको बताईन् । देशका कर्णधार तिनै विद्यार्थी भएको बताउदै उनले भोली देशको सक्षम नागरिकको रुपमा आफूले देख्न पाउने बताइन् । उनले सरकारी विद्यालय र निजी विद्यालयविच सन्तुलन कायम नहुदा विभेद बढेको बताइन् ।

माध्यामिक तहको अध्ययन पश्चात विद्यार्थीहरुको ध्यान विदेशतिर जाने भएकाले यसलाई रोक्नका लागि गुणस्तरीय र सन्तुलित शिक्षाको आवश्यकता रहेको उनको भनाई छ । यसका लागी राजनैतिक व्यवस्थामा परिवर्तन आवश्यक रहेको उनको बुझाई छ ।

विद्यार्थीको हौसलाका लागि फ्रान्सेली संस्था उर्मती एशोसियसनले केहि संस्थाहरुमा साना साना सामान विक्रि गरेर त्यसबाट भएको नाफाले स्विट्टर वितरण गरेको जानकारी गराईन् । अघिल्लो वर्षहरुमा पनि उर्मती एशोसियसनले उक्त विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्रीहरुको वितरण गरेको थियो ।

कार्यक्रम बोल्दै तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले विद्यार्थीहरुको लागि न्यानो लिएर आएकोमा उर्मती एशोसियसन धन्यवाद दिदै तेमालको शैक्षिक क्षेत्रको प्रगतीका निम्ति कुनै कसर बाँकी नराखी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनतालाई अनुभुति हुने गरि शैक्षिक क्षेत्रका सुधारका लागि काम अघि बढाउने बताए ।

त्यस्तै वडा नं १ का वडा अध्यक्ष ईन्द्र प्रसाद अधिकारीले शैक्षिक गुणस्तरका लागि अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए । शिक्षक र विद्यार्थी गुण्स्तरीय शिक्षाका लागि लागिरहदा अभिभावकको सहयोग र साथ आवश्यक रहेको बताए । विद्यालयलाई वडाबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै जनचेतना उच्च मा.वि का प्रध्यानाध्यापक ध्रुव प्रसाद पाण्डेले विद्यार्थीको समस्या बुझेर न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिए । यसअघि पनि सहयोग गर्दै आएको उर्मतीले आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा विद्यालयले गरेको बताए ।

कार्यक्रममा शिक्षक,विद्यालय व्यवस्थापन समतिका अध्यक्ष,विद्यार्थी,अभिभावक लगायतको उपस्थिति रहेको थियो । न्यानो कपडा पाएपछि दुबै विद्यालयका विद्यार्थी खुसी भएका थिए । तेमाल गाउँपालिका वडा नं २ मा जन्मेकी समाजसेवी पासाङ डोल्मु लामाले आफ्नो आमाको अल्पआयुमै निधन भएपछि आमाको सम्झनामा उर्मती एशोसियसन नामक संस्था संचालन गरेकी हुन् । उनले काभ्रेका विभिन्न स्थानमा पुगेर सहयोग सामाग्री वितरण गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.