फेशन डिजाइनरका रुपमा आफूलाई अब्बल प्रस्तुत गर्नुभएको छ अनु श्रेष्ठले । सानैदेखिको रुचीले यो क्षेत्रमा आएको बताउनुहुने अनु ‘अनु श्रेष्ठ डिजाइन’मार्फत आफ्ना क्रियशन पस्किरहनु भएको छ । सामाखुशी रहेको ‘अनु श्रेष्ठ डिजाइन’मार्फत विगत चार वर्षदेखि उहाँले आफ्ना क्रियशन पस्किरहनुभएको हो ।

द क्रियशन स्कुल अफ फेशन डिजाइनबाट फेशन सम्बन्धि कोर्ष गरेर अनु यो क्षेत्रमा होमिनु भएको हो । विभिन्न फेशन शोमा अवार्डसमेत चुम्न सफल अनु चर्चामा आउन मन नपाराउने र काममा विश्वास गर्ने बताउनुहुन्छ ।

उहाँले डिजाइन गरेका विभिन्न ड्रेस विदेशका धेरै देशमा मन पराइएको छ । उहाँले अमेरिका, अष्ट्रेलिया, क्यानडा, युकेका साथै खासगरी युरोपियन मुलुकमा डिजाइनर ड्रेस सप्लाइ गर्ने गर्नुभएको छ । उहाँले यसमार्फत धेरै महिला दिदी बहिनीलाई रोजगारी प्रदान गर्न सफल हुनुभएको छ ।

कोरोना संक्रमणलाई नियन्त्र र रोकथाम गर्नका लागि गरिएको निषेधाज्ञाको समयमा पनि उहाँले धेरै दिदी बहिनीलाई रोजगारी दिएर सहयोग गर्नुभएको थियो । देशमै केही गर्नुपर्छ भनेर आफ्ना क्रियशनमार्फत विदेशमा राम्रो छबी बनाउन सफल अनु मिहिनेत र परिश्रम नै सबैभन्दा ठूलो कुरा रहेको बताउनुहुन्छ । ‘म नयाँ नयाँ परिकल्पना, मिहिनेतका साथ परिश्रम गरिहेकी हुन्छु, त्यसैले पनि होला सबैले राम्रो मानिरहनुभएको छ, विदेशमा पनि राम्रो माग छ’, उहाँले सुनाउनुभयो ।

अनुमा साहस र क्षमता दुवै छ । उहाँले गरेको संघर्षले उद्यम क्षेत्रमा आउन महिलालाई उत्साहित गर्छ । उहाँ भन्नुहुन्छ, ‘यो क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा चुनौती छ । यसैले आफूले जे गर्न सकिन्छ त्यो कामलाई चुनौतीभन्दा पनि अवसर र कर्तव्यको रुपमा स्वीकार गर्न सक्यो भने यसले आफूलाई आत्मविश्वासी बनाउन मद्दत गर्छ ।’ आफ्ना डिजाइनका माग बढदै गएकोमा आफूमा थप जिम्मेबारी थपिएको उहाँ बताउनुहुन्छ ।