एक महिना अघिसम्म ३ सय रुपैयाँ प्रतिलिटर पर्ने खाने तेललाई अहिले ४ सय रुपैयाँमा विक्रेताले बेच्ने गरेका छन् । चामल प्रति बोरा ५० देखि १०० रुपैयाँ, दाल लगायत गेडागुडी प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म मूल्य बढेको छ् ।
खाद्यान्नका अलवा फलफूल तथा तरकारी पनि महँगिएको छ । सामान्यतः ४० देखि ५० रुपैयाँ प्रतिकिलो पर्ने अधिकांश तरकारी १ सयदेखि १ सय ५०, दुई सय रुपैयाँ प्रतिकिलो पर्ने स्याउ ३ सय, १ सय रुपैयाँ दर्जन पर्ने केरा १ सय ४० बजारमा पर्ने गरेको छ । तीन सय रुपैयाँ प्रति किलो पर्ने ब्रोइलर कुखुराको मासु अहिले ४ सय पुगेको छ । मूल्यवृद्धिले जिल्लामा आर्थिक अवस्था कमजोर भएर मजदुरी गर्दै आएकाहरु समस्यामा परेका छन् । बजारमा अहिले सबैभन्दा बढी खाने तेलको भाउ बढेको छ । चैत महिनामा करिब २ सय ८० रुपैयाँ लिटर रहेको खाने तेल दुई महिनाको अन्तरमै १ सय २० बढेर ४ सय पुगेको बनेपाकी बिपना शर्माले बताइन् । त्यसमाथि सरकारले ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएर १ हजार ८ सय तोकेको छ ।
तेल मात्र नभई चामल, दाल, चिनी, तरकारी, फलफूलको पनि मूल्य बढाएकाले जीविकोपार्जनमै कठिनाई भएको धेरै उपभोक्ता बताउँछन् । व्यापारीले मनपरी दैनिक उपभोग्य वस्तुको मूल्य बढाउँदा पनि सम्बन्धित सरकारी निकाय मौन रहेको उपभोक्ताको गुनासो छ । दैनिक उपभोग्य वस्तु नै किन्न धौधौ पर्ने गरेको बनेपाका राजेन्द्र केसीले बताए । कतिपय व्यापारीले त अझ म्याद गुज्रेका सामग्री समेत बेच्ने गरेको उनले जानकारी गराए ।
जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायले अनुगमन नगर्दा ब्यापारीले मनपरी मूल्य बढाएको स्थानीय नेत्रबहादुर महतले बताए । व्यापारी भने कम्पनीले नै प्रत्येक पटक सामान पठाउँदा मूल्य बढाएर पठाएकाले महँगिएको बताउँछन् ।–नव क्षितिज साप्ताहिकबाट