काभ्रेपलान्चोक – एमसीसी सदनबाट पारित हुँदा चर्को विरोध गर्ने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पनि समर्थनमा देखिन पुगे । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने पक्षमा पुगेको सन्देश दिएपनि यसका पछाडि बाह्य दबाब पनि कारण बनेको छ ।

प्रचण्डले त सार्वजनिक रुपमै आफूलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले दबाब दिएको बताएका थिए । लू केही महिना अघि नेपाल आएर एमसीसी पारित गर्न दबाब दिएर गएका थिए । पछि उनले शिर्ष नेताहरुसँग टेलिफोन संवाद गरी एमसीसी पारित नगरे नेपालसँगको सम्बन्धमा पुनरावलोकन गर्ने चेतावनी दिए ।

रुस र युक्रेनबीच युद्ध चलेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरे । उक्त संवाद रुस र युक्रेनबीचको युद्धको विषयमा केन्द्रित रहेको खुलाइएको थियो । नेपालले रुसको कदमको खुलेर विरोध गरेको छ । दक्षिण एशियामा नेपाल मात्र रुसविरुद्ध कडा विज्ञप्ति निकाल्ने देश हो ।अमेरिकी अधिकारीहरुको नेपाल भ्रमणले गति लिन थालेको छ । यसै महिना अमेरिकी सांसदहरुको जम्बो टोली नेपाल भ्रमणमा आउने तय भएको छ । २५ जना अमेरिकी सांसद नेपाल भ्रमणमा आउन लागेका हुन् । यो नेपाल भ्रमणमा आउन लागेका अमेरिकी सांसदहरुको अहिलेसम्मकै ठूलो टोली हो ।

चिनियाँ विदेशमन्त्री वाङ ई आउँदो हप्ता नेपाल आउँदैछन् । उनले चिनियाँ विकास परियोजना बीआरआईबारे छलफल गर्ने बताइएको छ । चिनियाँ विदेशमन्त्री नेपाल आएलगत्तै अमेरिकी सांसदहरुको टोली नेपाल आउनु अर्थपूर्ण छ ।विगतमा चीनको प्रभाव बढ्दै जाँदा अमेरिकाले चासो बढाउँदै लगेको छ । पछिल्लो समय अमेरिकी परियोजनाहरु अगाडि बढ्नु र अमेरिकी अधिकारीहरुको दौडधूप बढ्नुले प्रभाव बढेको विश्लेषणहरु गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..