बनेपा, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९वैशाख ३० गते गर्ने निर्णय गरेसंगै बिभिन्न तयारी थालेको छ ।

निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

आयोगले तयार गरेको नामावली वडा तहसम्मबाट रुजु भएपछि मात्रै सार्वजनिक गरिन्छ । आयोगले स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुने अनुमान गरेको छ । २०७४ को स्थानीय चुनावमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता थिए ।
निर्वाचनका लागि ११ हजार ७ सय ८२ मतदान स्थल, ७ सय ५३ निर्वाचन कार्यालय, ७७ वटा जिल्ला निर्वाचन कार्यालय रहने आयोगले जनाएको छ । कोराना संक्रमणको जोखिम पनि भएकाले हरेक निर्वाचन स्थलमा एक जना स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी पनि छ ।

दुई लाख युवा मतदाता थपिने
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले करिब १ करोड ७९ लाख मतदाता कायम हुने भन्दै नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरिएकोमा यसपटक आसन्न स्थानीय सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने मिति २०७९ साल वैशाख २९ गते अर्थात् निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति निर्धारण गरिएको बताए । नेपालको निर्वाचन इतिहासमा पहिलोपटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा मतदाता नामावलीमा नाम समावेश भएका थप करिब २ लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता भएको छ । २०७९ साल वैशाख २९ गते १८ वर्ष पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा करिब १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ ।
आयोगले निर्वाचन कार्यतालिका स्वीकृत भएको र मतदाता नामावली अद्यावधिकको काममा जुटेको बताएको छ । आयोगका प्रवक्ता शर्मा पौडेलले अन्तिम मतदाता नामावलीको नाम अद्यावधिक गर्ने कार्य भइरहेको बताए ।

विद्युतीय मतदानको सम्भावना ?

स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोगको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन भएको छ । निर्वाचन आयोगले प्रवधि विज्ञहरुसँग छलफल गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तकोसंयोजकत्वमा ८ सदस्यीय समिति बनाइएको आयोगका प्रवक्ता पौडेलले बताए ।

कार्यदललाई ७ दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ । कुनकुन स्थानीय तहमा विद्युतीय मतदानको प्रयोग गर्न सकिन्छ भनेर कार्यदलले अध्ययन गर्नेछ । ‘कार्यदलको प्रतिवेदनपछि कहाँ कहाँ विद्युतीय मतदान हुने भन्ने निर्णय हुन्छ’, पौडेलले भने, ‘यसका लागि दलहरुसँग पनि छलफल हुन्छ ।’
नेपालमा नेकपा एमालेले आफ्नो निर्वाचनमा विद्युतीय मतदानको प्रयोग गरेको थियो । यस्तै केही संघसंस्थाका निर्वाचनमा पनि विद्युतीय मतदान भएको भएपनि यस्ता निर्वाचनमा भने विद्युतीय मतदान प्रयोग भएको छैन ।

स्थगित भयो मतदाता नामावली संकलन
निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आयोगका अनुसार गत सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको थियोे ।–नव क्षितिज साप्ताहिक

तपाईको प्रतिक्रिया

१०० दिनमा ७७ जिल्ला साइकल यात्रामा हिडेका अभिनय कार्की